• Sunday 18th of October 2026

जग्गा खाली गर्न दीपक खड्कालाई नेपाल स्काउटको ७ दिने अल्टिमेटम, नहटाए सबै सामान जफत गरिने


  • धनकुटा खबर
  • .

नेपाल स्काउटले काठमाडौँको लैनचौरस्थित आफ्नो ३ रोपनी जग्गा भोगचलन गरिरहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिलाई बक्यौता रकम तिरी जग्गा खाली गर्न ७ दिने अल्टिमेटम दिएको छ। उक्त कम्पनी कांग्रेस नेता दीपक खड्काको हो ।

तोकिएको समयभित्र जग्गा खाली नगरेमा त्यहाँ रहेका सम्पूर्ण संरचना र सामान जफत गरिने स्काउटले चेतावनी दिएको छ।

स्काउटले आज एक सार्वजनिक सूचना प्रकाशित गर्दै लामो समयदेखिको कानुनी लडाइँपछि पनि कम्पनीले जग्गा नछोडेकाले अन्तिम पटक चेतावनी दिएको हो। काठमाडौँ महानगरपालिका वडा नं. २६ (साबिक २९), लैनचौरस्थित कित्ता नं. १० को उक्त जग्गाका लागि नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्टबीच २०६५ सालमा १० वर्षे सम्झौता भएको थियो।

सम्झौताको अवधि २०७५ सालमा समाप्त भए पनि कम्पनीले जग्गा खाली गरेको थिएन। विवाद अदालतसम्म पुगेपछि काठमाडौँ जिल्ला अदालतले २०७६ असार १८ गते र पछि उच्च अदालत पाटनले २०७९ असार १३ गते नेपाल स्काउटको पक्षमा फैसला सुनाएको थियो।

अदालतको अन्तिम फैसलापछि पनि कम्पनीले अटेर गरी जग्गा भोगचलन गरिरहेको र बक्यौता रकमसमेत नतिरेको स्काउटले सूचनामा उल्लेख गरेको छ। यसअघि २०७९ चैत २८ गते ३५ दिने सूचना जारी गर्दा पनि अटेर गरेपछि स्थानीय प्रशासनको सहयोगमा २०८१ वैशाख ६ गते उक्त क्षेत्र सिलबन्दी गरिएको थियो।

अहिले प्रकाशित ७ दिने सूचनामा भनिएको छ, ‘बक्यौता रकम तिर्न अन्तिम मौका प्रदान गरिएको छ। उक्त समयभित्र बक्यौता नतिरे सम्झौताको बुँदा ४ र मुलुकी देवानी संहिता, २०७४ अनुसार जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरू जफत गरिनेछ।’ जफत गरिएको सम्पत्तिबाट पनि बक्यौता असुल नभएमा कम्पनीको अन्य जायजेथाबाट असुलउपर गरिने व्यहोरासमेत सूचनामा उल्लेख छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖