• Sunday 18th of October 2026

ओली लक्षित रक्षा बमको आक्रोश : निहत्था बिद्यार्थीमाथि गोली चलाउने तानाशाह खुलेआम हिंड्दैछ


  • धनकुटा खबर
  • .

जेनजी आन्दोलनकी अभियन्ता रक्षा बमले निहत्था विद्यार्थीमाथि गोली चलाउने आदेश दिने व्यक्तिहरू अझैसम्म दण्डविहीनरूपमा समाजमा खुलेआम हिँडिरहेको भन्दै कडा आपत्ति जनाएकी छन्।

सामाजिक सञ्जालमार्फत भावनात्मक रूपमा प्रतिक्रिया दिँदै उनले समाजको मौनता, संवेदनशीलताको अभाव र अन्यायप्रति सहनशीलताको प्रवृत्तिप्रति गहिरो निराशा व्यक्त गरेकी छन्। उनले लेखेकी छन्, “निहत्था विद्यार्थीहरूमाथि गोली बर्षाउने आदेश दिने तानाशाह खुलेआम घुम्दैछ, अन्तरवार्ता दिँदैछ, अझै पनि चुट्किला सुनाएर दुनियाँ हँसाइरहेको छ।”

बमका अनुसार, यस्ता व्यक्तिहरूका चुट्किलामा ताली बजाउने काम केवल मनोरञ्जन होइन, निरंकुशता र तानाशाही व्यवहारलाई वैधता दिने कार्य हो। उनले लेखेकी छन्, “मानिसहरू उसको चुट्किलामा ताली बजाइरहेका छैनन्, उनीहरू त निरंकुश तानाशाहको हर्कतलाई बढाइरहेका छन्।”

समाजको मौनताप्रति असन्तुष्टि जनाउँदै उनले प्रश्न गरेकी छन्, “यो अट्टहासको साक्षी कसरी बस्न सकेका होलान् मानिसहरू? एउटा दम्भी तानाशाहको भाषणमा ताली बजाएर घर फर्किएकाहरू आफ्नो वरिपरि हुर्किरहेका जेनजीहरूसँग आँखा जुधाएर कुरा गर्न कसरी सकिरहेका होलान्?”

अभियन्ता बमले अझै पनि आन्दोलनका पीडितहरू घाउ बोकेर न्यायको प्रतीक्षामा रहेको बताउँदै लेखेकी छन्, “हाम्रा साथीहरूको रगत सडकमा अझै सुकेको छैन। चिसो रातहरूमा घाइते साथीहरूको शरीर अझै दुखिरहेको छ।”

उनले अन्त्यमा लेखेकी छन्, “न्याय ढिलो भयो भने पनि आवाज दबिँदैन। हाम्रा सपनासँगै न्यायको माग अझ बलियो हुँदै जानेछ।”

उनको यो टिप्पणी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ लक्षित भएको राजनीतिक वृत्तमा बुझिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖