‘हामी नेपाल’का संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति आक्रोश व्यक्त गर्दै निकोलस भुषालमाथि मात्रै कारबाही भएकोमा प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै गुरुङले महेश बस्नेतलाई कारबाही नगरी निकोलसलाई मात्रै पक्राउ गरिएकोप्रति आपत्ति जनाएका हुन्। उनले लेखेका छन्, “निकोलस भुषाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो, गृहमन्त्रीज्यू? अनि किन निकोलस मात्रै पक्राउ परे? कि शक्तिशालीलाई नछुने ओली सरकारकै पारामा ढल्किनु भएको हो?”
गुरुङले आफ्नो यो अभिव्यक्ति लामो समयदेखि चलिरहेको मौनता र अन्यायप्रति थकित भएर आएको बताएका छन्। उनले लेखे, “बन्द कोठामा प्रश्न गर्दा–गर्दा थाकेँ, लाग्छ आन्दोलन हार्दैछ।”
उनको यो वक्तव्यले जेनजी आन्दोलनभित्र पनि असन्तुष्टि र आत्म–समालोचनाको स्वर देखिएको संकेत दिएको छ। गुरुङको पोस्ट सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल बन्दै गएको छ, जहाँ धेरै प्रयोगकर्ताले गृहमन्त्रीको निर्णय प्रक्रियामाथि प्रश्न उठाएका छन्।
आन्दोलनका अन्य अभियन्ताहरूले पनि समान मुद्दामा असमान व्यवहार भएको आरोप लगाउँदै न्याय र पारदर्शिताको माग दोहोर्याइरहेका छन्।
