राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व सांसद सुमना श्रेष्ठ ले अहिलेको राजनीतिक परिस्थिति र परिवर्तनको आवश्यकता बारेमा आफ्नो धारणा सार्वजनिक गरेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै देशलाई नयाँ निकास दिन अब सामूहिक नेतृत्वको आवश्यकता भएको बताएकी छन्।
श्रेष्ठले लेखेकी छन्, “राजनीतिक निकास बिना कुनै आन्दोलन संस्थागत हुन सक्दैन भन्ने बुझाइ हामी सबैको हो। तर पुराना दलहरू रिफर्म नहुने अवस्थामा एकजुट हुँदैछन्, चुनावी समीकरण मिलाउनका लागि।”
उनका अनुसार, पुरानो नेतृत्वले पटक पटक असफलता देखाइरहेकाले अब नयाँ पुस्ता र नागरिक चेतनालाई समेट्ने सामूहिक नेतृत्व नै परिवर्तनको बाटो बन्न सक्छ। उनले लेखेकी छन्, “सबै वर्ग, क्षेत्र र विशेषगरी सामाजिक मुद्दाहरूलाई एकीकृत गर्दै देश निकासका लागि एउटै नेता होइन, सामूहिक परिषद (Council of Leaders) को अवधारणामा जान सकिन्छ।”
पूर्व सांसद श्रेष्ठले राजनीतिक पार्टीहरूको दिशा दिन एउटै नेताको होइन, साझा सोच र दृष्टिको आवश्यकता रहेको बताइन्। “कुनै एक नायकको अनुहारभन्दा अगाडि राष्ट्रको मुद्दामा केन्द्रित नेतृत्व चाहिन्छ,” उनले लेखेकी छन्।
श्रेष्ठले अहिले देशलाई चाहिएको कुरा “बजारमा होइन, नीतिमा आधारित स्थिरता” भएको बताउँदै लेखेकी छन्, “हामीलाई अहिले चाहिएको मध्यमार्गी, नीति र मूल्यमा आधारित, जिम्मेवार र स्थिर सरकार हो।”
ज्ञात रहोस्, सुमना श्रेष्ठले जेन-जी आन्दोलनपछि प्रतिनिधिसभा सांसद पदबाट राजीनामा दिएकी थिइन्। उनले त्यतिबेलासमेत “राजनीतिमा नयाँ सोच र जवाफदेहिता” को आवश्यकता रहेको बताएकी थिइन्।
