• Sunday 18th of October 2026

युवा संघको जाहेरी: बालेन विदेश भाग्न सक्छन्, तत्काल पक्राउ गरी पाउँ


  • धनकुटा खबर
  • .

नेकपा एमाले निकटको युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई तत्काल पक्राउ गरी उनको राहदानी रोक्का गर्न माग गर्दै साइबर ब्युरोमा जाहेरी दिएको छ।

मेयर साहले सामाजिक सञ्जालमार्फत प्रमुख राजनीतिक दल र मित्रराष्ट्रहरूलाई अश्लील शब्द प्रयोग गरी गालीगलौज गरेको बताउँदै संघले पक्राउको माग गरेको हो।

युवा संघका केन्द्रीय उपाध्यक्ष महाराज गुरुङद्वारा दायर गरिएको जाहेरीमा मेयर साहले देशको आन्तरिक राजनीतिमा मात्र नभई अन्तर्राष्ट्रिय सम्बन्धमा समेत खलल पुर्‍याएको आरोप लगाइएको छ।

गत शनिबार मध्यराति साहले आफ्नो फेसबुक पेजबाट अमेरिका, भारत, चीन लगायत प्रमुख राजनीतिक दलहरूलाई लक्षित गरी आपत्तिजनक स्टाटस लेखेका थिए।

लेखेको केहीबेरमा आलोचना सुरू भएपछि बालेनले उक्त पोस्ट आफ्नो वालबाट हटाए पनि सामाजिक सञ्जालभरि त्यसको स्क्रिनशट भने ‘भाइरल’ बनेको थियो।

सोही विषयलाई लिएर युवा संघका उपाध्यक्ष महराज गुरुङसहितका नेताहरूले राजधानीको मेयर जस्तो जिम्मेवार व्यक्तिले अश्लील भाषा प्रयोग गरी मित्रराष्ट्र र राजनीतिक दलमाथि लाञ्छना लगाएको भन्दै कारबाहीको माग गरेका हुन्।

‘सार्वजनिक पदमा बसेको व्यक्तिले विदेशहरुलाई पनि गाली गरी सम्बन्धमा आँच आउने कार्य गरेको हुनाले प्रचलित कानुन बमोजिम कडाभन्दा कडा कारबाही गरी पाउँ,’ जाहेरीमा भनिएको छ।

जाहेरीमा साह विदेश भाग्न सक्ने र प्रमाण नष्ट गर्न सक्ने आशंकासमेत व्यक्त गरिएको छ। यही आशंकाका आधारमा संघले अनुसन्धानका लागि मात्र नभई मेयर शाहलाई तत्काल नियन्त्रणमा लिन माग गरेको छ।

‘निज (बालेन) विदेश भागी जाने र प्रमाणहरु नष्ट गर्नेहुँदा तत्काल पक्राउ गरी निजको राहदानी समेत रोक्का राखी पाउँ,’ जाहेरीमा भनिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖