काठमाडौँ – रास्वपा सभापति रवि लामिछानेको नख्खु कारागारबाट भएको रिहाइबारे अहिले जाँचबुझ आयोगले प्राथमिकता दिएर अनुसन्धान गरिरहेको छ। बाहिर व्यापक रूपमा “रविलाई निकिता पौडेलको सक्रियताले छुटाइएको हो” भन्ने चर्चा चले पनि, निकिताले ती सबै दाबी अस्वीकार गरेकी छन्।
नेपाल प्रेससँगको कुराकानीमा उनले भनिन्, “जेलर सत्यराज आचार्यले फोन गरेर ‘उहाँको वाइफलाई नै बोलाउनु पर्छ’ भन्नुभयो। त्यसपछि मात्र मलाई थाहा भयो कि उहाँ छुट्दै हुनुहुन्छ।”
निकिताले थपिन्, “डीपी दाइ (अर्याल) र उहाँका पिए अविनाशसित एक–दुईचोटि कुरा भएको हो, तर त्यो पनि मेरो गाडी लिन जाँदा सहजीकरणका लागि मात्रै।”
आयोगका स्रोतका अनुसार तत्कालीन जेलर आचार्यको मोबाइल सम्पर्क र प्राविधिक विवरण परीक्षण भइरहेको छ। ती रिपोर्ट सार्वजनिक भएपछि मात्रै यो विषयबारे ठोस निष्कर्ष निकालिने बताइएको छ।
हालसम्म निकिता पौडेल, उपसभापति डीपी अर्याल वा अन्य व्यक्तिलाई आयोगले बयानका लागि नबोलाएको बुझिएको छ।
निकिता भने अहिले सार्वजनिक आरोपको वर्षा झेल्दै छिन्। उनले भनिन्, “मलाई त उहाँ छुट्ने कुरा थाहा नै थिएन, सबै कुरा पछि मात्र थाहा भयो।”
