• Sunday 18th of October 2026

शंकर पोखरेलको भावुक स्ट्याटस : दुई वटा घर र दुई छोरीका पढाइका सामग्री नष्ट भए


  • धनकुटा खबर
  • .

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले जेन्जी आन्दोलनका क्रममा भएको आगजनीपछि आफ्नो घर पूर्णरूपमा नष्ट भएको भावुक अनुभव फेसबुकमार्फत साझा गरेका छन्। बिहीबार राति गरिएको लामो स्टाटसमा उनले “घरबाट डेरासम्मको यात्राको कथा” सुनाउँदै राजनीति, संघर्ष र जीवनको उतारचढाव सम्झिएका छन्।

पोखरेलले लेखेका छन्, “१६ वर्षको उमेरमा पढाइका लागि घर छोडें, अहिले फेरि ५५ वर्षपछि डेराको जीवन सुरु गर्नुपरेको छ।” उनका अनुसार जेन्जी आन्दोलनको हिंसात्मक घटनामा काठमाडौँ र दाङस्थित दुबै घर जलेर खरानी बनेका छन्। आगजनीमा उनका पारिवारिक दस्तावेज, सम्झनाका वस्तु र छोरीहरूको अध्ययन सामग्री समेत नष्ट भएका छन्।

पोखरेलले आफ्नो पोस्टमा स्पष्ट पारेका छन् कि यो पीडा पोख्ने होइन, तर आन्दोलनलाई “भ्रष्टाचारविरोधी अभियान”सँग जोड्ने गलत बुझाइ सच्याउने प्रयास हो। उनका अनुसार आन्दोलनमा केही युवा सच्चा भावना लिएर उत्रिएका थिए, तर त्यसमा “स्वार्थी र आपराधिक तत्व” मिसिएर विध्वंसकारी रूप लिएको थियो।

उनी लेख्छन्, “हाम्रो घरमा भएको लुटपाट र आगजनी राष्ट्र र लोकतन्त्रलाई कमजोर बनाउने चाल थियो।” उनले नवयुवाहरूको भावना र आदर्शलाई सम्मान गर्ने तर अपराधको घोर निन्दा गर्ने उल्लेख गरेका छन्।

पोखरेलले आफ्नो राजनीतिक जीवनमा आर्थिक अनुशासन र मितव्ययिताको अभ्यासलाई उदाहरणीय भन्दै लेखेका छन्, “भ्रष्टाचारविरोधीको मापदण्डमा कोही छन् भने, म आफैंलाई त्यसमा परीक्षणमा लैजान तयार छु।”

पोखरेलको यस भावुक स्टाटसले सामाजिक सञ्जालमा ठूलो चर्चा पाएको छ। धेरैले उनलाई राजनीतिक जीवनको ‘इमानदार पक्ष’का रूपमा व्याख्या गरेका छन् भने केहीले उनको पीडामा सहानुभूति व्यक्त गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖