• Sunday 18th of October 2026

विप्लव, जनार्दन र घनश्यामबिच ‘सघन’ सहकार्य गर्ने सहमति


  • धनकुटा खबर
  • .

काठमाडाैँ । नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव), प्रगतिशील राष्ट्रिय अभियान संयोजक जनार्दन शर्मा र तत्कालीन एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल आगामी दिनमा सघन सहकार्य गर्दै अघि बढ्न सहमत भएका छन् ।

विप्लवसँग शुक्रबार बिहान शर्मा र भुसालले गरेको भेटमा नयाँ परिस्थितिमा कसरी सहकार्य घनिभूत उचाइमा लैजान सकिन्छ भनेर छलफल भएको भुसालले जानकारी दिए ।

‘विकसित परिस्थिति र आगामी सहकार्यलाई कसरी बढाउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रह्यो, हामीले विगतमा पनि सहकार्य गर्दै आएका थियौ, अव पनि सहकार्यलाई निरन्तरताका साथ सघन बनाउन तीनै नेता सहमत भएका छौ’, भुसालले रातोपाटीसँग भने, ‘सवै विषयमा छलफल गरेर अगाडि जाने हो ।’

छलफलमा आजको राजनीतिक अन्योलको समाजवादी कम्युनिस्ट पार्टीहरू एकताबद्ध भएर सामना गर्नुपर्नेमा तीनवटै नेताहरुको जोड रहेको बताइएको छ । पूर्व माओवादी नेता शर्मा नेपाली कम्युनिस्ट पार्टीसँगको एकता प्रक्रियामा सहभागी नभएर अलग अभियान चलाउने तयारीमा छन् । सोही अन्तर्गत उनले प्रगतिशील राष्ट्रिय अभियान घोषणा गरेका छन् ।

त्यस्तै नेता भुसाल पनि पार्टी पुनर्गठनको अभियान चलाउने प्रयासमा छन् । नेता शर्माले बिहीबारमात्र वैकल्पिक राजनीतिक शक्ति निर्माणबारे पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र रास्वपाका नेताहरूसँग छलफल गरेका थिए । उनीहरूबिच आगामी निर्वाचनमा कसरी जाने भन्नेबारे समेत कुराकानी भएको बताइएको छ । यद्यपि यसबारे ठोस निष्कर्षमा पुगिनसकेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖