• Sunday 18th of October 2026

रास्वपाका ३४ केन्द्रीय सदस्यले तिरेनन् पार्टी लेबी, तोसिमा र गणेश कार्कीले दिए ‘गरिब’ निवेदन


  • धनकुटा खबर
  • .

चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठक शुक्रबारदेखि चितवनमा सुरु हुँदैछ, तर पार्टीका आधाभन्दा बढी केन्द्रीय सदस्यले अझै वार्षिक लेबी बुझाएका छैनन्।

रास्वपाका कोषाध्यक्ष लिमा अधिकारीका अनुसार पार्टीमा ६२ जना केन्द्रीय सदस्य छन्, तर बिहीबार रातिसम्म जम्मा २८ जनाले मात्र लेबी तिरेका छन्। बाँकी ३४ सदस्यले लेबी नतिरेको उनले पुष्टि गरिन्।

पार्टीले केन्द्रीय सदस्यका लागि वार्षिक २५ हजार र विभागीय सदस्यका लागि १५ हजार रुपैयाँ लेबी तोकेको छ। यो रकम हरेक आर्थिक वर्ष सुरु भएको दुई महिनाभित्र, अर्थात् असोजभित्र बुझाउनुपर्ने नियम छ।

लेबी बुझाउनेमध्ये कार्यबाहक सभापति डोल प्रसाद अर्याल, उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्री कवीन्द्र बुर्लाकोटी, कोषाध्यक्ष लिमा अधिकारी, सहप्रवक्ता प्रतिभा रावल, शिशिर खनाल, सन्तोष परियार, सोविता गौतम, डा. अरनिको पाँडे, पुकार बमलगायत छन्।

तर डा. तोसिमा कार्की र केन्द्रीय सदस्य गणेश कार्कीले आर्थिक अवस्थाका कारण लेबी तिर्न नसक्ने भन्दै निवेदन दिएका छन्। असोज २७ सम्म सांसद रहेकी डा. कार्कीले “आर्थिक अवस्था कमजोर भएकाले लेबी तिर्न सकिँदैन” भनी लेखित रूपमा निवेदन दिएकी हुन्।

कोषाध्यक्ष अधिकारीका अनुसार लेबी नतिरेका सदस्यले चितवनमा सुरु हुने विस्तारित बैठकमा सहभागी हुन नपाउने सम्भावना छ। उनले भनिन्, “पार्टीको मुख्य आयस्रोत नै लेबी हो, त्यसैले बैठकमा सहभागी हुनुअघि सबैले बुझाउनुपर्छ।”

बैठकमा प्रदेश, जिल्ला र क्षेत्रीय तहका पदाधिकारीहरू पनि प्रतिनिधिका रूपमा सहभागी हुनेछन्। सहभागिताका लागि १५ सय रुपैयाँ शुल्क तोकिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖