• Sunday 18th of October 2026

‘दलको आदेश होइन, जनताको सुरक्षा हेर्ने प्रहरी चाहिन्छ’ : गुरुङ


  • धनकुटा खबर
  • .

जेन–जी आन्दोलनका प्रतिनिधि सुधन गुरुङले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी नेपाल प्रहरीको भावी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे सुझाव दिएका छन्। उनले कुनै व्यक्तिको नाम नलिई “सफा पृष्ठभूमि र जनताको पक्षमा निडर भएर काम गर्न सक्ने व्यक्ति” नै प्रहरीको नेतृत्वमा आउनुपर्छ भन्ने मत राखेका छन्।

गुरुङले उकेरासँग कुरा गर्दै भने, “म कुनै व्यक्तिको नाम लिँदिनँ, तर जेन–जी आन्दोलनको भावना अनुसार काम गर्न सक्ने र पृष्ठभूमि सफा भएको व्यक्ति नै आइजीपी हुनुपर्छ।” उनले हिजोका सरकारहरूजस्तै मनपरी ढंगले मन पर्ने व्यक्तिलाई नियुक्त गर्ने प्रवृत्ति दोहोरिनु नहुने चेतावनी पनि दिए।

उनका अनुसार प्रहरी संगठनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गरी अनुशासन, पारदर्शिता र जनविश्वास पुनःस्थापित गर्न सक्ने नेतृत्व आवश्यक छ। “हामी प्रहरीसँग न्याय र सुरक्षाको अपेक्षा गर्छौं, तर प्रहरी नै अन्यायमा परेको संस्था देखिन्छ,” गुरुङले भने, “अबका दिनमा यस्तो अवस्था अन्त्य गर्न साहसी र इमानदार नेतृत्व चाहिन्छ।”

आईजीपी नियुक्तिको प्रक्रिया पारदर्शी बनाउनुपर्ने माग गर्दै उनले योग्यताका आधार सार्वजनिक गर्न सरकारलाई आग्रह गरे। “अब ‘कसैलाई मन परेको भएर नियुक्त गरियो’ भन्ने चलन अन्त्य हुनुपर्छ। नागरिकले थाहा पाओस् — कुन आधारमा आईजीपी चयन भएको हो,” उनले भने।

सुधनले प्रहरीलाई नागरिकको साथी बन्ने, डर होइन भरोसाको प्रतीक बन्नुपर्ने बताए। उनका अनुसार, संगठनभित्र दलको होइन, जनताको मनोवृत्ति प्रतिबिम्बित गर्ने नेतृत्व नै जेन–जी आन्दोलनको वास्तविक लक्ष्य हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖