नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघले हामी नेपालका संस्थापक सुदन गुरुङको नागरिकता छानबिनका लागि सरकारलाई एक हप्ताको अल्टिमेटम दिएपछि राजनीतिक वृतमा यो विषय फेरि तातिएको छ।
संघले हालै जारी गरेको वक्तव्यमा सरकारले सुदन गुरुङको नागरिकताको सत्यता सार्वजनिक नगरे कानुनी कारबाही अघि बढाउने चेतावनी दिएको थियो। उक्त घोषणाले जेन–जी आन्दोलनसँग जोडिएका युवामाझ व्यापक प्रतिक्रिया उत्पन्न गरेको छ।
यसैबीच सुदन गुरुङले सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक तरिकामा ती आरोपहरूको जवाफ दिएका छन्। उनले लेखेका छन्,
“Thank you my dear महेश ब्रो FINALLY। मेरो १० पुस्ते निस्केपछि मेरो नागरिकता तपाईँको निधारमा सुपर ग्लुले प्ल्याट पारेर टाल्दिन्छु।”
उनको यो अभिव्यक्ति केही घण्टामै भाइरल भएको छ र राजनीतिक वृत्तदेखि सामाजिक सञ्जालसम्म चर्चा सुरु भएको छ। धेरैले यसलाई सुदनको आत्मविश्वासी र व्यङ्ग्यात्मक प्रतिक्रिया भनेका छन् भने केहीले यो ‘राजनीतिक आक्रोशको प्रतीक’ भनेर व्याख्या गरेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार एमालेले दिएको अल्टिमेटम जेन–जी आन्दोलन र सरकारले बनाएको समीकरणमा दबाब सिर्जना गर्ने प्रयास हो। सुदनको तीखो टिप्पणीले भने नागरिकता विवादलाई अझै तातो बनाएको छ।
यसअघि पनि सुदन गुरुङले जेन–जी आन्दोलनको नेतृत्व र स्पष्ट राजनीतिक धारणाका कारण विभिन्न विवादका सामना गर्दै आएका छन्। उनका नजिकका स्रोतका अनुसार, उनी हाल सरकारको कार्यसम्पादन र जनम्यान्डेटका पक्षमा रहेको जेन–जी लाइनमा अडिग छन्।
सरकारले भने अहिलेसम्म सुदन गुरुङको नागरिकता विवादबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
अहिले सुदनको यो व्यङ्ग्यात्मक पोस्टले नागरिकता विषयलाई राजनीतिक भन्दा पनि सांकेतिक र जनभावनासँग जोडिएको बहसमा रूपान्तरण गरिदिएको छ।
