• Sunday 18th of October 2026

गगन थापा पार्टी सभापतिको हकदार हुनुहुन्छ, अब उहाँकै नेतृत्वमा कांग्रेस अघि बढ्छः नेता भट्टराई


  • धनकुटा खबर
  • .

काठमाडौं, कार्तिक २३ । नेपाली कांग्रेसका नेता नारायण प्रसाद भट्टराईले पार्टीको विशेष महाधिवेशनपछि पार्टीकाे नेतृत्व महामन्त्री गगनकुमार थापाले लिने सार्वजनिक गरेका छन् ।

नेपाली रेडियो नेटकर्वको ‘नेपाली बहस’ मा पत्रका ऋषि धमलासँग कुरा गर्दै उनले देशभरका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले केन्द्रीय समितिमा दर्ता गरेको हस्ताक्षर र विधानले दिएको अधिकारअनुसार विशेष महाधिवेशनपछि थापाको नेतृत्वमा कांग्रेस अघि बढ्ने बताए । विशेष महाधिवेशन अभियानको नेतृत्व थापाले गरेकाले सभापतिको हकदार थापा नै रहने नेता भट्टराईको भनाई छ ।

उनले भने, ‘अहिलेकै अवस्थामा कांग्रेस निर्वाचनमा जाँदा जनताबाट तिरस्कृत हुने अवस्था छ । जनताको भावनाको कदर गर्न, जनताको विश्वास र जनादेश प्राप्त गर्नका लागि हाम्रा सबै तौरतरिका परिवर्तन गर्नुपर्छ । नीति र नेतृत्व बदल्नुपर्दछ ।

नयाँ कार्यक्रम तय गर्नुपर्छ । सुशासन र भष्ट्राचार मुक्त समाज निर्माणका लागि पार्टी निर्वाचनले एजेन्डा तय गर्नुपर्छ । नेतृत्व वडादेखि केन्द्रतहसम्म परिर्वतन गर्नुपर्ने भएकाले जेन-जी पुस्ताको भावनालाई समेट्न, पार्टीभित्रको संकट समाधान गर्न, पार्टी पुर्नरगठन गर्न, पार्टीको नीति र नेतृत्व परिर्वतन आजको आवश्यकता भइसकेको छ । यसका लागि विशेष महाधिवेशन अभियानको नेतृत्व गरेका गगन थापा सभापतिको हकदार हुनुहुन्छ । विशेष महाधिवेशनपछि थापाकै नेतृत्वमा कांग्रेस अघि बढ्छ ।’

संस्थापन पक्षले महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय समितिमा दर्ता गरेको हस्ताक्षर नक्कली भनेर भ्रम फैलाएर अर्कोवर्षलाई महाधिवेशन सार्ने तयारीमा लागेको उनको भनाई छ ।

देशभरका महाधिवेशन प्रतिनिधिले पार्टीको पुर्नरगठन गर्न आवश्यक देखेरै हस्ताक्षर केन्द्रीय समितिमा बुझाएको बताउँदै उनले विशेष महाधिवेशनको अभियान चलाएका, विशेष महाधिवेशनको पक्षमा नैतिक समर्थन जनाएका महामन्त्री थापालाई पार्टीको नेतृत्व हस्तान्तरण हुने धारणा राखे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖