• Sunday 18th of October 2026

निर्वाचनलाई लक्षित गर्दै देशभर सवा लाख म्यादी प्रहरी भर्ना गर्ने प्रस्ताव


  • धनकुटा खबर
  • .

आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशभर सवा लाख म्यादी प्रहरी भर्ना गर्ने प्रस्ताव गरिएको छ। प्रहरी प्रधान कार्यालयले २१ फागुनमा हुने निर्वाचनको सुरक्षाका लागि कम्तीमा १ लाख १५ हजार म्यादी प्रहरी आवश्यक पर्ने प्रारम्भिक खाका तयार पारेको हो।

प्रहरी स्रोतका अनुसार, म्यादी प्रहरीको तालिम, तलब, भत्ता, पोसाक र अन्य व्यवस्थापनका लागि करिब ४ अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ। यस पटकको सुरक्षा योजना आमनिर्वाचन २०७९ को अनुभव र रणनीतिलाई आधार मानेर तयार पारिएको हो।

चुनाव सुरक्षाका लागि नेपाली सेनाका सहायक रथीको नेतृत्वमा प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरू सम्मिलित एकीकृत कार्यदल गठन भइसकेको छ। त्यस्तै, गृह मन्त्रालयले सहसचिव आनन्द काफ्लेको संयोजकत्वमा छुट्टै सुरक्षा कार्यदल बनाएर गृहपक्षको तयारी अघि बढाइरहेको छ।

सेना, प्रहरी र सशस्त्रले संयुक्त रूपमा देशभर गस्ती सुरु गरिसकेका छन्। गत २४ भदौको अशान्ति, तोडफोड र आगजनी घटनाबाट सिक्दै यसपटक सुरक्षालाई थप बलियो र समन्वित बनाउने तयारी भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन्।

सन् २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा करिब साढे पाँच लाख जनशक्ति तैनाथ गरिएको थियो। त्यसपटक पनि करिब एक लाख म्यादी प्रहरी परिचालन गरिएको थियो। यसपटक पनि प्रहरी जवानसरह सेवा सुविधा पाउने गरी करिब ४० दिनका लागि म्यादी खटाइने तयारी छ।

गृह मन्त्रालयले आगामी दिनमा यस प्रस्तावलाई अन्तिम रूप दिएर केन्द्रीय सुरक्षा समितिमा पेश गर्ने र निर्वाचन आयोगसँग समन्वय गरेर पूर्ण सुरक्षा योजना लागू गर्ने तयारी गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖