नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई खुलेआम चेतावनी दिँदै आफ्नो पार्टीलाई आन्दोलन गर्न कुनै अनुमति लिनु नपर्ने बताएका छन्। उनले प्रशासनको इजाजत नलिई सडकमा उत्रिने घोषणा गर्दै वर्तमान सरकारले जनअधिकार खोस्ने प्रयास गरेको आरोप लगाए।
राष्ट्रिय युवा संघ नेपालको कार्यक्रममा बोल्दै ओलीले भने, “अब हाम्रो आन्दोलन इजाजत लिएर हुने छैन। तपाईंहरूको स्वीकृतिमा आन्दोलन हुँदैन। तपाईंहरू असंवैधानिक हुनुहुन्छ, गैरकानुनी हुनुहुन्छ। संविधानभन्दा तपाईंहरूको आदेश माथि हुँदैन।”
उनले प्रधानमन्त्री सुशीला कार्कीलाई समेत सन्देश दिँदै आफ्ना मातहतका निकायहरूलाई कानूनी दायराभित्र मात्रै आदेश दिन सुझाव दिए। ओलीले थपे, “हामीले जेलनेल भोगेर ल्याएका अधिकारलाई कसैले खोस्न पाउँदैन। शान्तिपूर्ण विरोध हाम्रो अधिकार हो, यो हामीले संविधानबाट प्राप्त गरेका हक हुन्।”
ओलीको यस अभिव्यक्तिलाई राजनीतिक वृतमा आगामी आन्दोलनको संकेतका रूपमा हेरिएको छ। एमाले निकट युवा संघले पनि सडक आन्दोलनको तयारी थालेको जनाइएको छ।
उता, प्रशासन र सुरक्षा निकायहरूले भने स्वीकृति बिना प्रदर्शन गर्न नपाइने चेतावनी दिएका छन्। सरकार स्रोतका अनुसार, शान्ति सुरक्षामा असर पर्ने कुनै पनि गतिविधिमा तत्काल नियन्त्रणका उपाय अपनाइनेछ।
