• Sunday 18th of October 2026

स्वास्थ्य उपचारको बहानामा होटल पुगेर मुख्यमन्त्री नियुक्त


  • धनकुटा खबर
  • .

मधेस प्रदेशमा राजनीतिक नाटकीयता चरममा पुगेको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान करिब ४ बजे होटल पानसमा नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि विवाद चर्किएको छ।

यसअघि मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले शनिबार साँझ विश्वासको मत नपाउने अनुमानपछि राजीनामा दिएका थिए। संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नुपर्ने माग आए पनि प्रदेश प्रमुखले ढिलाइ गरिरहेकी थिइन्।

आइतबार साँझ संविधानविद् र कानुनविद्हरसँग परामर्श गरेपछि भण्डारीले सोमबार बिहान एमालेका यादवलाई ठूला दलका हैसियतमा मुख्यमन्त्री नियुक्त गरिन्। तर, यो प्रक्रिया संविधान र लोकतान्त्रिक परम्पराविपरीत भएको भन्दै विपक्षी दलहरू आक्रोशित छन्।

विश्वसनीय स्रोतका अनुसार भण्डारी बिहान ४ बजे ‘स्वास्थ्य उपचारका लागि काठमाडौं जाँदैछु’ भन्दै बाहिरिएकी थिइन्। केही घण्टामै उनी महोत्तरी–सिन्धुली सीमामा पर्ने होटल पानसमा पुगेकी थिइन्, जहाँ सरोज यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्दै शपथ ग्रहण गराइएको थियो।

यस घटनापछि निवर्तमान मुख्यमन्त्री सोनलले तीव्र प्रतिक्रिया जनाउँदै भने, “प्रदेश प्रमुखले लोकतन्त्र र संघीयतालाई धरापमा पार्दै मधेसको अस्मिता होटलमै समाप्त गरिन्। उनले मधेसी जनतालाई धोका दिएकी छिन्।”

यो घटनापछि मधेस प्रदेशको राजनीतिक वातावरण थप अस्थिर बनेको छ, र दलहरूले प्रदेश प्रमुखको निर्णयको कानुनी वैधता चुनौती दिने तयारी गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖