मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिलाई लिएर बढेको विवादबीच जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेशलाई स्वायत्त राज्य बनाउनुपर्ने माग अघि सारेका छन्। उनले सामाजिक सञ्जालमार्फत मधेश प्रदेशसभाबाट नै स्वायत्तता घोषणा गर्न आग्रह गरेका हुन्।
राउतले लेखेका छन्, “मधेश प्रदेशसभाको बैठकबाट मधेश प्रदेशको स्वायत्तता घोषणा गरौँ, आफ्नै प्रदेश प्रहरी र प्रशासनसहितको सरकार गठन गरौँ। डराएर सदियौँ नेपाली शासकको गुलामी गर्यौँ, अब खुलेर बोलौँ।”
उनका अनुसार अहिलेको संघीय सरकार नै संविधानअनुसार नभई आन्दोलनका मागबमोजिम बनेको हो, त्यसैले मधेशमा पनि जनताको चाहनाअनुसार स्वायत्त सरकार गठन गर्न सकिने दाबी उनले गरेका छन्।
राउतले केन्द्र सरकार र सिंहदरबारमाथि मधेशविरोधी षड्यन्त्रको आरोप लगाउँदै भनेका छन्, “सिंहदरबारबाट पठाइएका प्रदेश प्रमुख, सभामुख, निर्वाचन आयुक्त, प्रहरी र सचिवहरूले मधेशलाई एक हुन नदिने काम गर्दै आएका छन्।”
उनले मधेशी जनतालाई “अब पूर्ण स्वायत्तताको आन्दोलनको उद्घोष गर्न” आह्वान गर्दै भनेका छन्, “५४ प्रतिशत जनसंख्या भएको मधेश कसैको जागिर होइन, यहाँ हामीले आफ्नै शासन गर्न पाउनुपर्छ। नेपाली औपनिवेशिक शासन अन्त्य गर्ने यही सही समय हो।”
राउतको यो अभिव्यक्तिलाई केहीले मधेशमा नयाँ राजनीतिक आन्दोलनको संकेतका रूपमा लिएका छन् भने संघीय सरकारका निकट वृतले यसलाई भडकाउने बयानको रूपमा व्याख्या गरेका छन्।
