• Sunday 18th of October 2026

सागर ढकाल भन्छन् : “सरकार परिवर्तन भयो, तर सोच पुरानै रह्यो”


  • धनकुटा खबर
  • .

डडेलधुराबाट २०७९ को प्रतिनिधि सभा चुनावमा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवार बनेका युवा सागर ढकालले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। उनले सोमबार सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “सरकारको रफ्तार र काम देखेर मलाई डर लागेको छ।”

ढकाल जेनजी आन्दोलनका सक्रिय युवा हुन्। उनले भने, “हामीले इतिहास बनायौं, सिस्टम बदल्ने सपना देख्यौं, तर अहिले फेरि पुरानै शैलीमा चुनाव गराउने तयारी भइरहेको छ। सरकार बहाना खोज्दैछ, जिम्मेवारी टार्दैछ।” उनले सरकार र राजनीतिक दलहरू जेनजीको मागलाई गम्भीरतापूर्वक नलिएको आरोप लगाए।

प्रधानमन्त्री सुशीला कार्कीलाई सम्बोधन गर्दै ढकालले लेखे, “प्रिय सुशीला आमा, माफ गर्नुस् — म डडेलधुरा यत्तिकै फर्कन सक्दिन। यो सरकारको काम देखेर मलाई निकै डर लागेको छ। पूरै सिस्टम करिब जस्ताको त्यस्तै छ, परिवर्तनको भावना हराउँदैछ।”

ढकालले विशेषगरी विदेशमा रहेका नेपाली र बेजिल्लामा बसोबास गर्ने मतदातालाई मतदानको अधिकार दिने विषयमा सरकारको उदासीनता औंल्याएका छन्। उनका अनुसार गृहमन्त्री, कानुनमन्त्री र निर्वाचन आयोगका अधिकारीहरू प्रविधि र व्यवस्थापकीय तयारीबारे पर्याप्त जानकार छैनन्।

उनले सरकारी संयन्त्रलाई जिम्मेवारी टार्ने प्रवृत्तिबाट ग्रस्त भएको आरोप लगाउँदै भने, “निर्वाचन आयोग गृह मन्त्रालय देखाएर पन्छिन्छ, गृह मन्त्रालय कानुन मन्त्रालय देखाएर बस्छ, र प्रधानमन्त्री कार्यालय समयसीमा र कार्ययोजना दिन अस्वीकार गर्छ। यस्तो सरकारसँग जनताले के आशा गर्ने?”

ढकालले अन्त्यमा प्रश्न उठाए, “यो चुनाव जेनजीले चाहेजस्तो गराउने जिम्मा कसको हो? हामी कहाँ गएर ढुक्क हुन सक्छौं?” उनका यी वक्तव्यले जेनजी आन्दोलनमा सक्रिय युवाबीच नयाँ बहस सुरु भएको छ, जहाँ सरकारप्रति अविश्वास र सुधारको अपेक्षा एकैसाथ देखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖