काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष डा.सुजन कडरिया कार्यालय फर्किएका छन् ।
जेनजी आन्दोलनका क्रममा प्रहरीको गोलीबाट १९ जना विद्यार्थीहरूको मृत्यु भएपछि उनले नैतिकताका आधारमा भन्दै सामाजिक सञ्जाल मार्फत् राजीनामा घोषणा गरेका थिए । उनीसँगै ठूलो संख्यामा केन्द्रीय नेताहरू, क्याम्पस कमिटीका पदाधिकारी लगायतले राजीनामा घोषणा गरेका थिए ।
तर, उनीहरूको राजीनामाबारे कुनै निर्णय भएको छैन । यस्तो अवस्थामा एमालेले ‘घर फर्क अभियान’ चलाएपछि कडरिया सहित राजीनामा दिएर निष्कृय रहेका अनेरास्ववियुका नेताहरू नियमित काममा फर्किएका छन् ।
अध्यक्ष कडरियाले सामाजिक सञ्जाल मार्फत् राजीनामा दिएर बसेका सबैलाई संगठनको काममा फर्कन आग्रह गरेका थिए । ‘नेकपा एमाले र अखिलबाट बाहिर रहनु हुने सम्पूर्ण कमरेडहरूलाई पार्टीको घर फर्क अभियानमा आफ्नै घर फर्कनको निम्ति हार्दिक आह्वान गर्छु,’ कडरियाले लेखेका थिए ।
