• Sunday 18th of October 2026

प्रहरी नै बन्ने इच्छा नभएका दानबहादुर कार्की नेपाल प्रहरीका आईजीपी कसरी बने ?


  • धनकुटा खबर
  • .

नेपाल प्रहरीको ३३औँ महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की बिहीबार दर्ज्यानी चिन्ह लगाएर कमान्ड सम्हाल्नेछन्। उनी आगामी २९ महिना प्रहरी संगठनको नेतृत्व गर्नेछन्। तर उनी प्रहरीसम्मको यात्रा पूर्णतया नियोजित थिएन।

गुल्मी जिल्लाका कार्की मूल रूपमा परराष्ट्र सेवामा करियर बनाउने सोचमा थिए। २०४१ सालमा कक्षा ८ पुरा गरी काकाको सल्लाहमा काठमाडौँ आए। ललितपुर माध्यामिक विद्यालयमा ९ र १० कक्षा पढे। त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दै परराष्ट्र सेवाको तयारी गरिरहेका थिए।

त्यसै बेला उनका गुल्मीका साथीलाई प्रहरी निरीक्षक बन्ने चाहना थियो। साथीले अनुरोध गरेपछि कार्कीले फाराम भरे। प्रारम्भमा उनको मन प्रहरीमा प्रवेश गर्न थिएन, तर साथीको जिद्दीले उनलाई अघि बढायो। उनले साथीको साथमा दौड, अभ्यास, र प्रहरी निरीक्षकका किताब पढ्दै तयारी थाले, तर परराष्ट्र सेवाका किताब पनि छाडेनन्।

२०५४ सालमा ३० जनाको प्रहरी निरीक्षक भर्ती खुल्दा, उनले लिखित परीक्षा र अन्तर्वार्ता दिँदा अचम्मको कुरा भयो—उनको साथी अन्तिम सूचीमा परेनन्, तर दानबहादुरको नाम नतिजामा आयो। उनले आफूले प्राप्त अवसरमा खुशी भन्दा पनि साथीको नाम नपरेकोमा दुःख मनाए।

सुरुवात प्रहरी निरीक्षकबाट भए पनि निष्ठा, परिश्रम र निरन्तर अभ्यासले उनलाई उचाईमा पुर्‍यायो। २८ वर्षको अनुभवपछि दानबहादुर कार्की आईजीपी पदमा पुगे, जसले आगामी २९ महिना नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖