माओवादी केन्द्रका केन्द्रीय सदस्य ओम शर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथ छाडेका छन्। प्रचण्डले माओवादी केन्द्र विघटन गरी नेपाली कम्युनिस्ट पार्टीमा एकता गरेपछि शर्माले असहमति जनाउँदै पार्टीसँग सम्बन्ध विच्छेद गरेका हुन्।
कुनै समय प्रचण्डका निकट सहयोगी रहेका शर्मा नेता जनार्दन शर्माका आफन्त हुन्। उनी प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकारको भूमिकामा थिए। पछिल्लो समय उनी पार्टीको एसिया प्रवास संगठन समिति इन्चार्जका रूपमा सक्रिय थिए।
ओम शर्मासँगै केन्द्रीय सदस्य तथा भारत प्रवास इन्चार्ज लक्ष्मण पन्त, अन्तरमहादेशीय कोषाध्यक्ष सागर पोखरेल, एसिया समिति सदस्य रामहरि पुडासैनी, अन्तरमहादेशीय समिति सदस्य धर्मराज खतिवडा, बाबुराम सापकोटा, बेल्जियमका प्रवक्ता दिल निशानी मगर र अष्ट्रेलियाका महासचिव ई. प्रतिक पोखरेलले पनि प्रचण्डको साथ त्यागेका छन्।
शर्माले विज्ञप्तिमार्फत प्रचण्डको नेतृत्व कम्युनिष्ट आचरण विपरीत भड्किलो र सत्तालिप्साले भरिएको आरोप लगाएका छन्। उनका अनुसार, “पार्टी स्थापनाकालदेखि आजसम्म आयव्ययको कुनै विवरण सार्वजनिक गरिएको छैन। परिवारवाद र सत्ताको लोभले माओवादी आन्दोलनको नैतिक धरातल कमजोर बनाएको छ।”
उनले प्रचण्डले माधव नेपालको पार्टीसँग मिलेर माओवादी आन्दोलन विसर्जन गरेको आरोप लगाउँदै नयाँ ‘नेपाली कम्युनिस्ट पार्टी’सँग कुनै सम्बन्ध नराख्ने घोषणा गरेका छन्।
