सामाजिक अभियन्ता दिल निशानी मगरले पूर्व युवराज पारस शाहको जीवनशैली र हालको राजनीतिक तथा सामाजिक प्रवृत्तिबारे तीखो टिप्पणी गरेका छन्। आफ्नो फेसबुकमा लेख्दै उनले पारसले दरबार छाडेपछि कहिल्यै दरबार नफर्किएको र सडकमा सामान्य मानिसझैँ बाँच्न रुचाएको बताएका छन्।
मगरका अनुसार, पारसले कहिल्यै राजसंस्था पुनःस्थापनाको माग गरेनन्, बरु सबै कुरा नेपाली जनताको चाहनामा निर्भर हुने बताएका छन्। उनले लेखे, “पारसले आफू राजाको छोरा हुँ भनेर चिच्याएनन्, बदला लिने भाव पनि देखाएनन्, बरु सबै मिलेर बस्नुपर्छ भन्ने सोच राखे।”
उनले वर्तमान राजनीतिक नेताहरूलाई लक्षित गर्दै भनेका छन्, “दशकौँदेखि सत्तामा रहेका नेताहरू केही दिन पदबाट बाहिरिएपछि टाउको काटिएको भालेझैँ छटपटाउँछन्, आफूहरू बिना देश चल्दैन भनेर धम्की दिन्छन्।” उनले अझ अघि भने, “आज झुपडीमा जन्मिएका मानिसहरूमा पनि दरबारका भन्दा बढी विलासीपन र सुविधाको लालच देखिन्छ, नैतिकता, मूल्य र मर्यादाको कुनै मतलब छैन।”
मगरले हाल देशभर फैलिँदो लागूपदार्थ दुव्र्यसनप्रति पनि चिन्ता व्यक्त गरेका छन्। उनले लेखेका छन्, “पारसले ड्रग्स सेवन गरेको भन्दै आलोचना हुन्छ, तर आज सुदूरपश्चिमदेखि मधेशसम्म लाखौं युवा ड्रग्समा फसेका छन् र राज्य बेखबर छ।”
उनका अनुसार, देशमा युवाको हातमा रोजगारीको अवसर हुनुपर्ने ठाउँमा अहिले सुई, रड र खुकुरी पुगेका छन्। उनले राज्य र समाज दुबैलाई आत्ममूल्यांकन गर्न आग्रह गर्दै वर्तमान प्रवृत्तिलाई “मान्छेको असली प्रवृत्तिको प्रतिबिम्ब” भनेका छन्।
