काठमाडौं — गृहमन्त्री ओमप्रकाश अर्यालले आफूले कुनै पनि नयाँ राजनीतिक दल खोल्ने वा चुनाव लड्ने योजना नराखेको स्पष्ट पारेका छन्।
राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसद किरणबाबु श्रेष्ठले सोधेको प्रश्नको जवाफमा मन्त्री अर्यालले भने, “म दल खोल्दिनँ, चुनाव पनि लड्दिनँ।”
उनले संविधानको शपथ लिएर जिम्मेवारी सम्हालेको र त्यसप्रति पूर्ण प्रतिबद्ध रहेको बताए। साथै, संविधानमा सुधार आवश्यक परे त्यसको प्रक्रिया संसदबाटै अघि बढ्नुपर्नेमा जोड दिए।
“जसले संविधान बाहिरका कुरा गर्छन्, उनीहरूलाई कानुनी बाटोमा आउन आग्रह गर्छौं,” उनले थपे।
मन्त्री अर्यालले समितिमा मुलुकको शान्ति सुरक्षा र आसन्न निर्वाचनको तयारीबारे विस्तृत जानकारी समेत दिएका थिए।
