• Saturday 17th of October 2026

‘नेतृत्वको अनुहार नफेरी चुनावमा जान सकिँदैन’:कांग्रेस


  • धनकुटा खबर
  • .

पोखरा । महाधिवेशन विवादले १ महिनादेखि कांग्रेस केन्द्रीय समिति बैठक अनिर्णीत छ । सरकारले मिति तोकिसकेको प्रतिनिधि सभा निर्वाचन अगाडि महाधिवेशन गर्ने कि पछाडि गर्ने भन्नेमा मत बाझिएको छ । दुवै पक्ष आफ्नो अडानबाट टसमस नभए कांग्रेसले ठुलो क्षति व्यहोर्न सक्ने आम नेता कार्यकर्ताको आकलन छ ।

पोखरामा शनिबार भएको प्रदेश स्तरिय भेलामा पूर्वमन्त्री तथा कास्की कांग्रेसका पूर्व सभापति यज्ञबहादुर थापाले भाषण गर्दा गर्दै मलिन स्वरमा भने, ‘हे भगवान, काँग्रेस बचाइदेऊ ।’ उनको चिन्ता महाधिवेशन केन्द्रित मात्रै थिएन, पार्टी विभाजनसम्मको आकलन थियो । उनले आम नेता कार्यकर्ता र जनताको समेत मागलाई केन्द्रीय समितिले अनदेखा गर्न नमिल्ने बताए ।

‘केन्द्रीय समितिले तल्लो तहको मागलाई अनदेखा गरे फागुन २१ को निर्वाचनमा पराजयबाट कसैले बचाउन सक्दैन । यो पार्टीमा असङ्ख्य कार्यकर्ताहरूले ओत खोजिरहेका छन्,’ उनले भने, ‘असङ्ख्य कार्यकर्ताहरूको इच्छा र आकाङ्क्षालाई मारियो भने ठुलो भूल हुनेछ, अन्याय हुनेछ ।’

प्रदेश भेलाले मङ्सिरभित्रै १५ औँ महाधिवेशन सक्नेगरी तालिका सार्वजनिक गर्न केन्द्रमा सिफारिस पठाएको छ । भेलामा सहभागीको सर्वसम्मत निर्णयबाट उक्त प्रस्ताव पठाइएको सभापति शुक्रराज शर्माले जानकारी दिए । उनका अनुसार, १५ औँ महाधिवेशन मंसिरभित्र सम्भव नभए विधानको व्यवस्था बमोजिम विशेष महाधिवेशन जरुरी छ ।

‘हामी अब अलमल छाडेर, स्पष्ट दृष्टिकोण लिएर निर्भीकताका साथ अगाडी बढ्न चुक्नु हुँदैन । जसका लागि मङ्सिरभित्रै महाधिवेशन सम्पन्न गर्ने प्रण गर्दछौँ,’ शनिबारको भेलाले गरेको निर्णयमा भनिएको छ । सम्पूर्ण तहको पदावधि सकिएको अवस्थामा नियमित वा विशेष महाधिवेशनको नाममा केन्द्रीय समिति बैठक अन्यौलता भएकोले तल्लो तहमा निराशा बढेको शर्मा बताउँछन् । आगामी निर्वाचनमा नयाँ परिवर्तित अवस्थाको काँग्रेस बनेर प्रस्तुत हुनुपर्ने माग भेलाका सहभागीहरूले गरेका थिए ।

विशेष महाधिवेशन पक्षधरले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाएका छन् । विशेष परिस्थितिमा विशेष महाधिवेशन गर्न सक्ने कांग्रेसको विधानमा प्रस्ट व्यवस्था छ । तर, धेरैले सबै तहको पदावधि सकिएकोले नियमित महाधिवेशनमै जोड दिएका छन् । स्याङ्जा आँधिखोला गाउँपालिकाका सभापति नरेन्द्र पौडेल केन्द्रीय नेतृत्व परिवर्तन गरेर मात्रै चुनावमा भाग लिनुपर्ने बताउँछन् । ‘कांग्रेसको जनमतले परिवर्तन र महाधिवेशन खोजेको छ । नेतृत्व परिवर्तन नगरीकन चुनावमा गइयो भने नेपाली कांग्रेसको अस्तित्व छैन,’ उनले भने, ‘त्यसैले महाधिवेशनबाट परिवर्तनको खाका सहित चुनावमा जानुपर्ने निर्णय तत्कालै लिनुपर्छ ।’

गोरखा २ (क) का सभापति दीपेन्द्र गुरुङलाई अहिलेको नेतृत्वप्रति आम नागरिक र विपक्षीहरूमा पनि नकारात्मक प्रभाव परेको लागेको छ । भन्छन्, ‘एउटै मान्छे ३०–३५–४० वर्षसम्म शासन गरिरहेको छ र त्यो मान्छेले अब देश बनाउन सक्दैन भन्ने प्रचार अहिले भइरहेको छ । त्यो हामीले जे बुझ्न जरुरी छ र कुनै पनि हालतमा हामी मौजुदा अवस्थामा आम निर्वाचनमा भाग लिने अवस्था छैन । कांग्रेसलाई रूपान्तरण गरेर लैजानुपर्छ । नयाँ अनुहारले नेतृत्व गर्नुपर्छ ।’

नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष प्रेम पौडेल पनि पार्टी फुट्ने बहाना देखाएर महाधिवेशन रोक्ने खेल भइरहेकोतर्फ प्रश्न गर्छन् । ‘कार्यकर्ताले मेरो कार्यकाल सकियो अधिवेशन गरौँ भनेर माग गरेका छन् । केन्द्रीय समितिले यो कुरा सुनिरहेको छैन,’ उनी भन्छन्, ‘महाधिवेशन गरेर पार्टी फुट्छ भन्ने भ्रमको राजनीति गरेर कार्यकर्तालाई अलमल्याउने काम वर्तमान नेतृत्वले नगरोस्, छिटो भन्दा छिटो १५ औँ महाधिवेशन होस् ।’

प्रदेशको भेलाले जेनजी प्रदर्शन कांग्रेसका कारण पनि भएकोले सबैसँग माफी माग्ने प्रस्तावलाई पारित गरेको छ । पार्टीको संस्थागत कमजोरी, आन्तरिक विचलन र विगतका केही सम्झौता गरेर गल्ती भएको स्विकार्दै आगामी दिनमा गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएको महामन्त्री किरणबाबू श्रेष्ठले बताए । उनका अनुसार, गण्डकी काँग्रेसले लोकतन्त्रको सट्टा प्रजातन्त्र र धार्मिक स्वतन्त्रतालाई पुनःवहाली गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖