• Saturday 17th of October 2026

रवि जेलमा, रास्वपामा प्रधानमन्त्री उम्मेदवारको अन्योल


  • धनकुटा खबर
  • .

काठमाडौं। निर्वाचन भन्दा ६ महिना अगाडि पार्टी दर्ता गरेर निर्वाचनमा होमिँदा संसदको चौथो ठूलो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यो पटक आफूलाई सम्पूर्ण रुपमा निर्वाचनमा केन्द्रित गराएको छ।

पूर्वप्रधानन्यायाधीश सुशील कार्की नेतृत्वको सरकारले पाएको म्याण्डेट भनेको फागुन २१ मा प्रतिनिधिसमा निर्वाचन गराउनु हो, जसलाई रास्वपाले पूर्ण रुपमा समर्थन गरेको छ।

अन्य राजनीतिक दल चुनाव हुने नहुने द्विविधामा रहेका बेला रास्वपाले भने चुनाव एकमात्र विकल्प भएको बताउँदै आएको र आफूलाई निर्वाचनमा केन्द्रित गराउन थालेको छ।

०७९ को आम निर्वाचन भन्दा ठिक ६ महिनाअघि मात्रै दल दर्ता गरेर तत्कालीन संचारकर्मी रवि लामिछाने राजनीतिमा होमिएका थिए। रविको ब्राण्डलाई क्यास गर्दै रास्वपा छोटो समयमै संसदको चौथो ठूलो शक्ति बन्न सफल भयो।

यतिबेला निर्वाचन नजिकिँदै गर्दा रास्वपालाई पहिलाको जस्तो सहज स्थिति देखिँदैन। सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्, रास्वपामाथि विभिन्न आरोप लागिरहेका छन् भने पार्टीका हस्ती मानिएका नेताले एकपछि अर्को गर्दै पार्टी छोडिरहेका छन्।

निर्वाचनको सन्मुखमा पार्टी छोड्ने नेताहरुका ताँती लागेको मात्रै छैन अब तीन महिनापछि हुने निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार कसलाई अगागि सार्ने भन्ने चुनौतीसमेत रास्वपालाई छ।

‘अहिले हामी आफूलाई सम्पूर्ण रुपमा निर्वाचन केन्द्रित गरिरहेका छौं,’ रास्वपा उपसभापति डिपी अर्यालले डिसी नेपालसँग भने, ‘पार्टीबाट केही नेताहरु जानु भएको छ। त्यसमा हामीलाई दुःख लागेको छ। तर उहाँहरु जाँदैमा पार्टी सकिने होइन। अहिले रास्वपामा तीन लाख संगठित सदस्य छन्। हामी फागुन २१ मा हुने निर्वाचनमा होमिन सम्पूर्ण रुपमा तयार छौं।’

रास्वपा बाहेकका दल निर्वाचन हुनेमा ढुक्क छैनन्। नेकपा एमालेले त संसद पुनःस्थापनाको माग गर्दै देशव्यापी रुपमा जनप्रदर्शन सुरु गरिसकेको छ। नेपाली कांग्रेस चुनाव पहिला गर्ने कि पार्टीको १५ औं महाधिवेशन पहिला गर्ने भन्ने विषयमा रुमल्लिइरहेको छ।

उता १२ वटा समूह मिलाएर गठन भएको नेपाली कम्युनिष्ट पार्टी पनि चुनाव हुनु पर्ने बताएपनि सांगठनिक रुपमा चुनावको लागि तयार भएको देखिँदैन। यस्तोमा रास्वपा एक्लो दल हो जो चुनावको विकल्प छैन भनिरहेको छ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि परम्परागत दलहरु कमजोर बनेको निष्कर्ष निकालेको रास्वपाले कांग्रेस, एमाले र माओवादीकै कारण जेनजी आन्दोलन भएकोले अब आउने निर्वाचनमा उनीहरुलाई जनताले मत नदिने र त्यो मत आफूतर्फ आउने आँकलन गरिरहेको छ।

तर जेनजी आन्दोलनपछि आधा दर्जन भन्दा बढी दल दर्ता भइसकेका छन्। जसका कारण कांग्रेस एमाले र माओवादीका फ्रस्टेड मत बाँडिने खतरा छ। त्यसतर्फ रास्वपाले ध्यान दिइरहेको रास्वपा नेता गणेश पराजुली बताउँछन्।

अन्य दलसँग एकता, नभए गठबन्धन

रास्वपाले माग र मुद्दा मिल्ने दलसँग एकता नभए गठबन्धन गर्ने नीति लिएको छ। अहिले रास्वपाले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह, ऊर्जामन्त्री कुलमान घिसिङलगायतसँग सम्वाद गरिरहेको छ।

तर उनीहरुसँगको सम्वाद उत्साहप्रद नरहेको नेताहरुले बताएका छन्। कुलमानले आफूलाई अध्यक्षमा दाबी गरेपछि त्यसका लागि रास्वपा नेताहरु तयार नभएको स्रोतले बताएको छ।

‘उहाँले (कुलमान) आफूलाई प्रधानमन्त्रीको रुपमा सपना देख्न थाल्नु भएको छ। चुनावमा जाँदा पनि आफ्नो नेतृत्वको दल ठूलो हुन्छ भन्ने उहाँमा भ्रम देखियो,’ रास्वपा स्रोतले भन्यो, ‘उहाँसँग सहकार्य गर्ने गरी छलफल अगाडि बढाएका थियौं, रास्वपामा पनि उहाँलाई सभापति नै चाहिने भएपछि कुरा मिल्न सकेको छैन।’ यद्यपि सहमतिको प्रयास भइरहेको नेताहरुले बताएका छन्।

रास्वपाले बालेनसँग भने घनिभूत छलफल गरिरहेको छ। बालेनले छुट्टै दल दर्ता नगरेपछि रास्वपासँग सहकार्य गरेर जान सकिने संकेत गरेका छन्। त्यसपछि रास्वपा र बालेन निरन्तर संवादमा रहेको बताइएको छ।

‘फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा रास्वपा सबैभन्दा ठूलो दल बन्ने गरी निर्वाचनको तयारीमा छ,’ एक नेताले भने, ‘त्यसका लागि विभिन्न दल र समूहसँग निरन्तर छलफल जारी छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖