शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी २.० समूहलाई मागपत्र बुझाएर मात्रै समाधान नखोजी प्रत्यक्ष राजनीतिक भूमिकातिर उन्मुख हुन सुझाव दिएका छन्। सोमबार सिंहदरबारमा जेनजीले मागपत्र बुझाउँदा पुनले उनीहरूको धेरै माग अहिलेको संरचना र कानुनी सीमाभित्र तत्काल पूरा गर्न नसकिने स्पष्ट बताए।
पुनले भने, “सबै माग पूरा हुन्छ भन्न खोज्नु हुँदैन। चुनाव लड, आफ्नै सरकार बनाऊ, त्यसपछि सबै माग आफैँ पूरा गर।” उनका अनुसार काठमाडौँमा बसेर क्यामेरा अगाडि माग राख्दैमा परिवर्तन सम्भव हुँदैन, त्यसका लागि गाउँ–गाउँमा गएर नेतृत्व निर्माण आवश्यक छ।
युवापुस्ताले आफ्नै राजनीतिक शक्ति निर्माण गरे मात्र मूल समस्याको समाधान सम्भव हुने भन्दै उनले जेनजीलाई गाउँ फर्किन र निर्वाचनमार्फत शक्ति हातमा लिन प्रेरित गरे। “यो मन्त्रालयमा आएर यस्तो–यस्तो माग राखेर हुँदैन। तिमीहरूका माग मात्रै होइन, मेरो माग पनि सरकारले पूरा गर्नुपर्ने हुन्छ,” पुनले टिप्पणी गरे।
जेनजी २.० ले अध्ययन र प्राविधिक शिक्षा सम्बन्धी ७ दिनको अल्टिमेटम सरकारलाई दिएको छ। विशेषगरी सीटीईभीटीको चयन प्रक्रिया, स्टाफ नर्स पढ्न चाहेका १० हजार विद्यार्थीका लागि तत्काल व्यवस्था लगायतका विषयमा माग पूरा नहुँदा त्यसका लागि सीटीईभीटी स्वयं जिम्मेवार हुने चेतावनीसमेत उनीहरूले दिएका छन्।
