काठमाडौं, मंसिर १। सुशासनलाई प्राथमिकता दिने दाबी गर्दै प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्ध आक्रामक अभियान अघि बढाएको खुलासा गरेकी छन्। नागरिक अगुवासँगको छलफलमा उनले सरकार १८ देखि २० वटा महत्वपूर्ण फाइल अघि बढाइरहेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आफूले दैनिक फोन गरेर प्रगतिबारे सोध्ने गरेको बताइन्।
कार्कीका अनुसार सुशासनमा काम गर्न खोज्दा विभिन्न प्रकारका दबाब आएका छन्, तर ती दबाबसँग नझुक्ने उनको अडान छ। उनले भ्रष्टाचार छानबिन नहुने दाबी गर्नेहरूलाई आफ्नो कामले जवाफ दिने बताइन्।
छलफलमा राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने,
‘सीआइबी काम गरिरहेको छ, अख्तियारलाई म दिनदिनै फोन गर्छु, दबाब आए पनि फाइल रोकिँदैन।’
चुनाव फागुन २१ मै गर्ने तयारी
प्रधानमन्त्री कार्कीले फागुन २१ गते नै चुनाव गर्ने प्रतिबद्धता दोहोर्याइन्। हिमाली क्षेत्रमा केही चुनौती भए पनि संविधानले दिएको ६ महिनाको म्यान्डेटभित्र चुनाव सम्पन्न गर्ने उनको योजना हो।
उनी भन्छिन्,
‘निर्वाचन सजिलो छैन, जनता र दलसँग संवाद गर्दै पूरा तयारीका साथ अघि बढिरहेका छौँ।’
राज्य कमजोर, प्रहरीको मनोबल घटेको स्वीकारोक्ति
कार्कीले पछिल्लो अशान्तिबाट प्रहरीको मनोबल कमजोर भएको स्वीकार गरिन्। उनले राज्य नै कमजोर बन्न पुगेको र यस्तै अवस्थामा विदेशी आक्रमण भएको भए परिस्थिति झन् जटिल हुने उल्लेख गरिन्।
नागरिक अगुवाको चिन्ता
छलफलमा सहभागी अगुवाले उठाएका मुख्य विषय
• राजनीतिक वातावरण चुनावका लागि तयार नरहेको
• कैदी फरार र हतियार बाहिर रहेको जोखिम
• पुराना दल, पुरानै अनुहार फेरि आउने चिन्ता
• भूमि आयोग विघटन निर्णय गलत भएको टिप्पणी
• दलहरूलाई विश्वासमा लिएर मात्रै चुनाव सफल हुने सुझाव
प्रधानमन्त्री कार्कीले यी सुझावलाई गंभीर रूपमा लिने बताइन्।
जेन जी आन्दोलन र युवाको असन्तुष्टि
कार्कीले जेन जी आन्दोलनलाई केवल कानुनी मुद्दा मात्र नभई गहिरो राजनीतिक असन्तुष्टि भएको टिप्पणी गरिन्।
उनी भन्छिन्,
‘युवाले नयाँ व्यवस्थाको भाष्य खोज्न थालेका छन्, संरचनागत सुधार, निर्वाचन शिक्षा र युवालाई केन्द्रमा राखेर काम गर्नुपर्छ।’
उनले युवा पुस्ताको असन्तुष्टि सम्बोधन गर्न अध्यादेश र नीतिगत सुधारका उपाय अघि बढाइरहेको बताइन्।
