• Saturday 17th of October 2026

बालेनलाई ‘हिंसा भड्काएको’ आरोप— आयोगले बोलाउन सक्ने


  • धनकुटा खबर
  • .

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) सहित सबै उच्च–पदस्थ व्यक्तिहरूलाई बयानका लागि बोलाइने स्पष्ट संकेत गरेको छ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा बोल्दै “आवश्यक परे बालेनलाई पनि बोलाइन्छ” भन्ने भनाइद्वारा आयोग आफ्नो कार्यक्षेत्र कसैलाई छोडेर नचल्ने सन्देश दिएका छन्।

कार्कीका अनुसार बालेनमाथि जेन–जी आन्दोलनलाई उक्साउने, प्रदर्शनस्थलमा महानगरको टोली परिचालन गर्ने, सामाजिक सञ्जालमार्फत उत्तेजक अभिव्यक्ति दिने जस्ता आरोपहरू उठेकाले सत्य बुझ्न उनका बयान पनि आवश्यक हुन सक्छ।

आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी महानिरीक्षक कुबेर चन्द्र खापुङ, हालका आइजिपी दानबहादुर कार्की लगायत सरोकारवालालाई पनि बयानका लागि बोलाउने तयारी गरेको छ। “घटनाको जरोसम्म पुग्न सबैलाई सोधपुछ अपरिहार्य छ,” कार्कीले स्पष्ट पारे।

उनले आयोगको प्रतिवेदन सरकारले अक्षरस पालन गर्नैपर्ने जोर दिँदै चेतावनी दिए— “यदि सरकारले प्रतिवेदन सार्वजनिक गरेन वा कार्यान्वयन नगरे भने एक महिनापछि हामी आफैं प्रतिवेदन सार्वजनिक गर्छौं।”

जेन–जी आन्दोलनका क्रममा राजधानीमा हिंसा, आगजनी, लुटपाट र तनाव बढेको थियो। त्यही घटनामा विभिन्न राजनीतिज्ञ, प्रहरी नेतृत्व र काठमाडौं महानगरको भूमिका विवादको केन्द्रमा रहेको छ।

कार्कीको वक्तव्यपछि आयोगको काम थप सक्रिय हुँदै गएको छ र राजनीतिक वृतदेखि प्रशासनसम्म आयोगका निष्कर्षप्रति चासो अझ तीव्र बनेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖