• Saturday 17th of October 2026

दुर्गा प्रसाईंलाई तत्काल रिहाइ गरिनुपर्ने केपी ओलीको माग


  • धनकुटा खबर
  • .

काठमाडौं, मंसिर ३। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको गिरफ्तारीप्रति सरकारलाई कडा चेतावनीसहित तुरुन्तै रिहाइ गर्न माग गरेका छन्। स्थानीय जनप्रतिनिधिहरूको उपत्यकास्तरीय भेलामा सम्बोधन गर्दै उनले सरकारले अभिव्यक्तिमाथि अंकुश लगाउने भूल गरेको आरोप लगाए।

ओलीका अनुसार प्रसाईंलाई दिउँसो सार्वजनिक भएको एक भिडियोका आधारमा रातारात गिरफ्तार गरिनु लोकतान्त्रिक मान्यताविरुद्धको कदम हो। उनले प्रश्न गरे, बोलेको भरमा कसैलाई थुन्न मिल्छ, मानव अधिकार आयोगले समेत अभिव्यक्ति स्वतन्त्रता रोक्न नहुने स्पष्ट बताइसकेको छ।

उनले सरकारप्रति थप आक्रोश व्यक्त गर्दै भने, दुर्गा प्रसाईंले सार्वजनिक गरेको भिडियोले सरकारलाई असजिलो बनाएको मात्र हो, त्यसकै कारण रातारात गिरफ्तारी गर्नु स्वेच्छाचारको अभ्यास हो। सरकारसँग त्यस भिडियोको जवाफ छैन भने गिरफ्तार गर्ने अधिकार कसरी हुन्छ भन्ने प्रश्न उनले उठाए।

ओलीले अभिव्यक्तिको आधारमा जोसुकैलाई पक्राउ गर्ने प्रवृत्ति अस्वीकार्य भएको उल्लेख गरे। उनका अनुसार, कसलाई मन पर्छ कसलाई मन पर्दैन भन्ने आधारमा राजनीतिक प्रतिशोधका शैलीमा गरिएको गिरफ्तारीले सरकारको चरित्र उजागर गरेको छ।

उनले सरकारलाई चेतावनी दिँदै भने, यस्ता तमासा बन्द नगरे लोकतान्त्रिक संस्थामा जनता अझै निराश हुनेछन्। दुर्गा प्रसाईंलाई चाँडो भन्दा चाँडो रिहा नगरे सरकार नै कठघेरामा पर्ने सम्केत उनले दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖