काठमाडौं। विस्थापित प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंलाई काखी च्यापेका छन्। आफू प्रधानमन्त्री भएका बेला पटक पटक पक्राउ गर्दै थुनामा राखेर हत्तुहैरान पारेका ओलीले अहिलेको सरकारले प्रसाईलाई पक्राउ गर्दा भने प्रसाईंको पक्ष लिएका छन्।
बुधबार उपत्यका स्तरीय कार्यकर्ता भेलामा ओलीले प्रसाईलाई पक्राउ गरिनुको विरोध गरे। उनलाई तत्काल रिहा गर्न पनि माग गरे। तर, पछिल्लो पटक प्रधानमन्त्रीको रुपमा आफ्नो कार्यकालमा ओलीले गरेका कामहरुको फेहरिस्त हेर्ने हो भने ओलीको प्रसाईप्रति कुनै सहानुभूति छैन। र, अहिले पनि उनले प्रसाईप्रति सहानुभूति देखाएको नभइ ‘रणनीतिक रुपमा च्याँखे थालेको’ प्रस्ट देखिन्छ।
सरकारले प्रसाईलाई सोमबार मध्यरातमा भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो। प्रसाईंमाथि सार्वजनिक शान्तिविरुद्धको काम गरेको आरोप लगाइएको छ। उनले सोमबार दिउँसो जेन-जी आन्दोलन र सरकारविरुद्धका भिडियो सामग्री सार्वजनिक गरेका थिए। लगत्तै राति उनलाई पक्राउ गरिएको थियो।
बुधबार ओलीले आफ्नो पार्टीको कार्यक्रममा भने ‘बोल्नै नपाउने पनि हुन्छ ? मानव अधिकार आयोगले पनि भनिसकेको छ, बोलेकै आधारमा कसैलाई थुन्न पाइँदैन भनेर। दुर्गा प्रसाईंले एउटा भिडियो निकाले। दिउँसो निकाले बेलुका समातियो। यो सरकारसँग त्यो भिडियोको जवाफ छ कि छैन ? दुर्गा प्रसाईलाई दिने जवाफ छ कि छैन ?’
ओलीले बुधबार जे बोले उनले आफू प्रधानमन्त्री रहँदा त्यसको ठिक विपरित काम गरेका थिए। उनले बुधबार मानवअधिकार आयोगले भनिसकेको कुरालाई सम्मान गर्नुपर्ने आशयको अभिव्यक्ति दिए।
तर, आफू प्रधानमन्त्री छँदा मानवअधिकार आयोगको घोर अपमान गर्ने पात्र ओली स्वयं हुन्। मानवअधिकार आयोगले आफ्नो अभिव्यक्तिमाथि प्रश्न उठाएको रिसमा ओलीले आयोगको २५ औं वार्षिकोत्सव कार्यक्रम बहिष्कार गरेका थिए।
विगतमा मानवअधिकार आयोगको वार्षिकोत्सवमा प्रधानमन्त्री स्वयं उपस्थित हुने परम्परा थियो। तर, यसपालिको जेठमा आयोगको वार्षिकोत्सवमा ओली गएनन्। कारण थियो-ओलीले आफ्ना कार्यकर्तालाई काठमाडौं आफ्नो पार्टीको कब्जामा हुनुपर्ने निर्देशन दिएका थिए । उनको यो अभिव्यक्तिप्रति मानवअधिकार आयोगले चिन्ता व्यक्त गर्दै प्रश्न उठाएको थियो ।
ओलीले काठमाडौं कब्जा गर्ने निर्देशन त्यो बेलामा दिएका थिए जतिबेला राजावादी समूहले काठमाडौंमा प्रदर्शन गर्न लागेको थियो। प्रसाईं स्वयं एउटा राजावादी समूहको नेतृत्व गर्छन्। ओलीको त्यो अभिव्यक्ति अप्रत्यक्ष रुपले प्रसाईप्रति पनि लक्षित थियो। उनले आफ्ना कार्यकर्तालाई राजावादीको प्रदर्शनविरुद्ध उत्रन समेत निर्देशन दिएका थिए।
ओली प्रधानमन्त्री छँदा प्रसाई पटक पटक पक्राउ परे। उनलाई कोलेकै आधारमा समेत पक्राउ गरिएको थियो। बोलेकै कारण प्रसाईलाई थुन्न लगाउने सरकारको नेतृत्व ओलीले नै गरेका थिए।
तर, अहिले एकाएक ओली प्रसाईले बोल्न पाउनुपर्ने तर्क गर्दैछन्। उनको यो अभिव्यक्तिलाई वर्तमान सरकार विरुद्ध प्रसाईलाई हतियारका रुपमा प्रयोग गर्ने रणनीतिका रुपमा हेरिएको छ।
हिन्दीमा एउटा उखान छ ‘दुश्मन का दुश्मन दोस्त होता है’, अर्थात शत्रुको शत्रु मित्र हुन्छ। जेनजी आन्दोलनलाई अवतरण गराउने क्रममा नेपाली सेनाले प्रसाईलाई समेत स्टेकहोल्डर मानेर वार्तामा राखेको थियो। तर, अहिले आफ्ना एजेण्डाका पक्षमा सुशीला कार्की सरकार नहिँडेपछि प्रसाई सरकारसँग रुष्ट छन्।
आफूलाई सत्ताबाट गलहत्याउने सरकारसँग ओलीको आक्रोश त हुने नै भयो। दुवैको शत्रु साझा भएपछि ओलीले प्रसाईलाई आफ्नो पक्षमा तान्न रणनीतिक पासा फ्याँकेका छन्।-डिसी नेपाल
