• Saturday 17th of October 2026

ओलीको प्रश्नलाई प्रतिप्रश्न: “रवि लामिछानेलाई राति समातेको आदेश कसले दियो?”


  • धनकुटा खबर
  • .

दुर्गा प्रसाईंलाई रातारात पक्राउ गरेको भन्दै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमाथि तीव्र आक्रमण गरेका एमाले अध्यक्ष केपी शर्मा ओली स्वयं अहिले ‘प्रतिप्रश्न’मा परेका छन्। उनी प्रधानमन्त्री हुँदा रास्वपाका सभापति रवि लामिछानेलाई पनि रातमै पक्राउ गरिएको तथ्य पुनः सतहमा आएपछि ओलीको तर्क दोहोरो मापदण्डजस्तै देखिएको भन्दै आलोचना बढेको छ।

ओलीले काठमाडौंमा स्थानीय जनप्रतिनिधिहरूको भेलामा बोल्दै प्रसाईंलाई दिउँसो भिडियो सार्वजनिक भएको आधारमै राति पक्राउ गरिएको भन्दै सरकार स्वेच्छाचारी बनेको आरोप लगाए। उनले “बोलेकै भरमा मान्छे समातिन्छ?” भन्दै मानवीय अधिकार र अभिव्यक्ति स्वतन्त्रताको कुरा उठाए।

तर उनको यही अभिव्यक्ति सामाजिक सञ्जाल र राजनीतिक वृतमै उल्टियो। धेरैले सोधे—“रवि लामिछानेलाई त तपाईंको सरकारकै आदेशमा रातमै पक्राउ गरिएको थियो, त्यसबेला रातको गिरफ्तारी ठीक किन ठानिएको?”

आलोचकहरूको भनाइमा ओलीले अहिले प्रसाईंको पक्षमा बोलेको मानवअधिकारको तर्क आफ्नै शासनकालमा लागू नभएको देखिन्छ, जसले उनको अभिव्यक्तिलाई कमजोर बनाइरहेको छ। उनी प्रधानमन्त्री हुँदा रवि लामिछानेलाई रातमै समातिएको घटना त्यतिबेला पनि विवादित ठानिएको थियो, तर सरकारका तर्फबाट त्यसलाई ‘कानुनी कार्यवाही’ भन्दै बचाउ गरिएको थियो।

अब भने ओली प्रसाईंमाथिको कारबाहीलाई राजनीतिक बदला र स्वेच्छाचारिताको संज्ञा दिँदै चर्को रूपमा सरकारमाथि उत्रिएका छन्। तर इतिहासले अहिले उनको नैतिकता नै प्रश्नमा राखिदिएको छ—यदि रातको गिरफ्तारी गलत हो भने, त्यो सिद्धान्त सबैमा लागू हुन्छ कि समयअनुसार बदलिन्छ?

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖