• Saturday 17th of October 2026

मन्त्रीपरिषदले सेना परिचालन अनुमोदन गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुरक्षा सुदृढीकरणका लागि सेना परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्ले मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने निर्णय मन्त्रीपरिषदले अनुमोदन गर्ने भएको छ ।

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४१औं बैठकले निर्वाचन प्रक्रियालाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन संविधानको धारा २६६ को उपधारा (१) बमोजिम नेपाली सेना परिचालनका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

बैठकमा परिषद्को आठौं वार्षिक प्रतिवेदन सम्बन्धी मस्यौदामाथि छलफल गरी आवश्यक संशोधनसहित स्वीकृत गरिएको र प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने तयारी भएको राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयले जानकारी दिएको छ। रक्षा मन्त्रालयका सचिव तथा परिषद्का सदस्य–सचिव सुमनराज अर्यालले प्रतिवेदन स्वीकृत भइसकेको पुष्टि गरे।

साथै, बैठकमा राष्ट्रिय सुरक्षामा देखिन सक्ने सम्भावित चुनौतीहरू, भूराजनीतिक तथा अन्तर्राष्ट्रिय घटनाक्रमले पार्न सक्ने प्रभाव, र आगामी दिनमा अंगाल्नुपर्ने रणनीतिसम्बन्धी विषयमा पनि विस्तृत छलफल भएको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव एकनारायण अर्याल, तथा प्रधान सेनापति अशोकराज सिग्देललगायत उच्चस्तरीय अधिकारीहरूको सहभागिता थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖