काठमाडौँ । पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले पार्टीभित्र लामो समयदेखि नेतृत्वको पुस्तान्तरण र पार्टी रूपान्तरणको पक्षमा उठाएको मुद्दा सुनवाइ नभएपछि विद्रोह गरेको जिकिर गरेका छन् ।
आइतबार राष्ट्रियसभा गृहमा आयोजना भएको पार्टी एकता सभालाई सम्बोधन गर्दै किरातीले ३७ वर्षसम्म नेतृत्वमा रहेकाले जेनजी विद्रोहलाई अस्वीकार गरी वृद्धाश्रम बनाएकोले विद्रोह गरेको जिकिर गरे ।
‘२४० वर्षको राजतन्त्र ढाल्न सक्ने नेताहरू आफैँ भित्रका परिवारतन्त्र विरुद्ध पराजित भए । लोकतन्त्र नेतातन्त्र र नातातन्त्रमा रुपान्तरण भयो । लोकतन्त्रका लडेका नेताहरू भ्रष्टतन्त्रमा परिणत भयो । जेनजी युवाहरूको सडकमा रगतका टाटा सुक्न नपाउँदै प्रतिक्रान्तिको हुङ्कार हुन थालेको छ’, उनले भने– ‘हामीले महाभारतका यदुबंशीय सेना रोजेनौँ । हामीले बाबुराम, जनार्दन, राम कार्की र ओजस्वी भट्टराई जस्तो कृष्ण रोज्यौँ । हामीले लामो समयदेखि पार्टीभित्र पुस्तान्तरण र रूपान्तरणको मुद्दा उठायौँ । तर ती ठुला पार्टीका नेताहरूले हाम्रा मुद्दालाई वृद्धाश्रम खोल्नुभयो ।’
उनले थप भने- ‘हामीले एक थान पार्टी मात्र खोल्न चाहेका छैनौँ । हामीले जनताको सेवा गर्न विधि र विचार सहितको पार्टी खोल्न चाहेको हाे । आजदेखि नयाँ जिम्मेवारीको प्रारम्भ गरेका छौँ । कम्युनिस्ट छोड्नुभयो भन्नुभयो । खोल उतै छोडेका छौँ । गुदी बोकेर आएका छौँ ।’
जेनजी विद्रोहपछि पनि प्रतिक्रान्तिको आवाज गुन्जिन थालेको भन्दै उनले फेरि पनि विदेशी षड्यन्त्र देख्नु विडम्बना भएको बताए ।
