• Saturday 17th of October 2026

जेन-जी मुभमेन्टले माग्यो प्रधानमन्त्री कार्कीको राजीनामा, मन्त्रिपरिषद्लाई सार्वजनिक बहिष्कार गर्न आह्वान


  • धनकुटा खबर
  • .

काठमाडौं, ८ मंसिर । जेन्जी मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ । जेन–जी विद्रोहको भावना तथा जनआकांक्षमाथि कुठाराघात गरेको भन्दै जेन– जी मुभमेँन्टले प्रधानमन्त्री कार्कीको राजीनामा मागेको हो । जेन–जी मुभमेन्टले प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद्लाई सार्वजनिक रुपमा बहिस्कार गर्दै अवज्ञा गर्न पनि देशबासीसँग आह्वान गरेको छ ।

‘हामी सुशीला कार्कीलाई तत्काल पदबाट राजीनामा दिन र जेन–जी विद्रोहको भावना तथा जनआकांक्षामाथि कुठाराघात नगर्न दृढ आह्वान गर्दछौं । सत्ता ‘कु’ गरेर बनेको सुशीला कार्की र उनको मन्त्रीपरिषद्लाई सार्वजनिक रूपमा बहिष्कार गर्दै अवज्ञा गर्न समग्र देशवासीलाई आह्वान गर्दछौं,’– जेन–जी मुभमेन्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

साथै, प्रधानमन्त्री कार्की नेतृत्वको सरकार गठन भएपछि उनका मन्त्रीपरिषद्‌मा रहेका पदाधिकारीहरूले क्रमिक रुपमा दुराचार र गैरजिम्मेवार निर्णय गरेको भन्दै जेन–जी मुभमेन्टले आपत्ति जनाएको छ । प्रधानमन्त्री कार्की नेतृत्वको सरकार पूर्ण रूपमा भ्रष्टाचार, पक्षपात र कुशासनमा गढिएको पुष्टि भएको पनि जेन–जी मुभमेन्टको ठहर छ ।

जेन–जी मुभमेन्टले ऊर्जामन्त्री कुलमान घिसिङले ४३ करोड रुपैयाँको राष्ट्रिय नोक्सानी हुनेगरी भारतसँग कमिसनमुखी विद्युत् सम्झौता गरेको, अर्थमन्त्री रामेश्वर खनालले डोल्मालाई गैरकानुनी कर छुट दिएको, महान्यायाधिवक्ताले १६÷१७ वर्षका किशोरीहरूलाई बेहोस बनाएर डिम्ब बिक्री गराउने संगठित समूहलाई कानुनी उन्मुक्ति दिएको, गृहमन्त्रीले आफ्ना काकालाई डीआईजी बनाउन दरबन्दी थप गरेको तथा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले आफ्नन्तलाई सचिवालयमा नियुक्त गरेको घटनाले सरकार आफैं सङ्गठित दुराचारको केन्द्र बनेको स्पष्ट हुने बताएको छ ।

यस्ताखालका निर्णय र गतिविधिहरु प्रधानमन्त्रीको संलग्नता र संरक्षण विना सम्भव नहुने जेन–जी मुभमेन्टको ठहर छ । त्यस्तै, भदौ २४ गते सडकमा युवाहरूलाई उत्तेजित गर्दै देशलाई खरानी बनाउने अभियानमा प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको गिरोह अगुवाइमा रहेको पुष्टि हुने पनि बताइएको छ । उनीहरूले जानीजानी राज्यविहीनता र अराजकताको वातावरण सिर्जना गरेर राजनीतिक ‘कू’ मार्फत सत्ता कब्जा गर्ने योजना बनाइरहेको तथ्य आज देशले स्पष्ट देखिसकेको र यस्तो कर्तुत नेपाली जनतामा लुकेर बस्न नसकेको बताइएको छ ।

त्यस्तै प्रधानमन्त्री कार्की नेतृत्वको सरकार संवैधानिक वैधता विहीन रहेको र यसको राजनीतिक नैतिकता र जनविश्वास दुवै समाप्त भइसकेको जेन–जी मुभमेन्टको ठहर छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖