इस्लामवाद । पाकिस्तानको पेसावरमा रहेको सङ्घीय प्रहरी दल (कन्स्टेबुलरी)को मुख्यालयमा सोमबार आक्रमण भएको छ । मुख्यालय नजिकै धेरै विस्फोटहरू सुनिएका छन् । घटनामा ३ जना प्रहरी कर्मचारी मारिएका छन् र अन्य २ जना घाइते भएको पनि बताइएको छ । घटनामा ३ जना आक्रमणकारी पनि मारिएका छन् ।
यस घटनामा आक्रमणमा संलग्न आत्मघाती हमलाकारीहरू मारिएको पाकिस्तानको सुरक्षा निकायले भनेका छन् । पाकिस्तानको द डन वेबसाइटका अनुसार, आक्रमण बिहान ८ बजे सदर–कोहट सडकमा भएको थियो । एक आत्मघाती हमलाकारीले मुख्यालयको गेटमा आफैँलाई विस्फोट गराए ।
त्यसपछि गोली चलेको आवाज सुनियो । अर्का आक्रमणकारीले मुख्यालयमा प्रवेश गर्ने प्रयास गरे । तर सुरक्षा बलहरूले उसलाई गोली हानी मारे । त्यसपछि सुरक्षा बलले मुख्यालय क्षेत्रलाई घेरा हालेर उद्धार कार्य सुरु गरे ।
यसैबिच, पेसावरको सबैभन्दा ठुलो सरकारी अस्पताल लेडी रिडिङ अस्पतालमा आपतकालीन घोषणा गरियो । उपचारका लागि केही घाइतेहरूलाई ल्याइएको र उनीहरूको अवस्था स्थिर रहेको अस्पतालका प्रवक्ताले बताएका छन् । आक्रमण गरिएको सङ्घीय प्रहरी बल एक नागरिक अर्धसैनिक बल हो ।
यसअघि यो बल फ्रन्टियर कन्स्टेबुलरी भनेर चिनिन्थ्यो । यस वर्षको जुलाईमा शाहबाज शरीफको सरकारले यसलाई फेडरल कन्स्टेबुलरी बनायो । पेसावरस्थित यसको मुख्यालय भिडभाड भएको क्षेत्रमा रहेको छ । यसको नजिकै सैन्य छाउनी पनि छ ।
