राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले उपसभापति डा. स्वर्णिम वाग्ले र नेतृ डा. तोसिमा कार्कीले पार्टी छाड्ने भन्ने चर्चा पूर्ण रूपमा निराधार भएको दाबी गरेका छन्। पत्रकारले राखेको प्रश्नको उत्तर दिँदै प्रवक्ता झाले विभिन्न सामाजिक सञ्जालमा फैलिएको हल्लाले कुनै आधार नराखेको स्पष्ट पारे।
“आठ महिना अघि पनि यस्तै हल्ला उठेको थियो”
प्रवक्ता झाले स्मरण गरे, “पाँच जना पदाधिकारी र तीन जना सांसदले पार्टी छाड्दै छन् रे भन्ने हल्ला आजभन्दा आठ महिना अघि पनि आएको थियो। त्यतिबेला पनि पत्रकार सम्मेलन हुँदै छ, यति मान्छे पार्टी छोड्दै छन् भन्ने झुट्टा कुरा फैलाइयो।”
उनका अनुसार यस्ता दाबीहरू बारम्बार दोहोरिए पनि कुनै पनि तथ्य वा संकेतले त्यसलाई पुष्टि गर्दैन।
कांग्रेसका कार्यकर्ताको फेसबुक ग्रुपबाट सुरु भएको हल्ला
झाले स्वर्णिम र तोसिमा पार्टी छोड्ने हल्ला नेपाली कांग्रेससम्बद्ध एक फेसबुक ग्रुपबाट फैलिएको समेत दाबी गरे।
“कुनै विश्वसनीय सञ्चारमाध्यमले त्यस्तो समाचार ल्याए भने हामी पनि ध्यान दिनैपर्छ भन्ने ठानौँला,” उनले भने, “तर कुनै पार्टीका केही हजार सदस्य भएको समूहमा लेखिएको आधारहीन पोस्टलाई समाचारजस्तै बनाएर प्रश्न सोधिनु उचित छैन।”
‘हल्लाको पछि नलाग्नुस्’— रास्वपाको आग्रह
झाले सामाजिक सञ्जालमा आधारित दाबीहरूलाई राजनीतिक उद्देश्यले फैलाइने अफवाहको रूपमा ब्याख्या गरे।
उनले पत्रकार र सर्वसाधारणलाई “अफवाहको पछि नलाग्न” अनुरोध गर्दै विश्वसनीय र प्रमाणित स्रोतमा मात्रै भरोसा राख्न आग्रह गरे।
