• Saturday 17th of October 2026

महेश बस्नेत धनगढी पुग्नेबित्तिकै युवासंघ–जेनजीबीच झडप, एकजना घाइते


  • धनकुटा खबर
  • .

धनगढी – नेकपा एमालेका नेता महेश बस्नेतको विरोधमा प्रदर्शनमा उत्रिएका जेनजी र युवा संघका नेता-कार्यकर्ताबीच झडप भएको छ। बस्नेत धनगढी आउने भएपछि जेनजी युवाहरूले धनगढीको जेनजी चोकमा प्लेकार्डसहित कालोपट्टी बाँधेर विरोध गरेका थिए।

बस्नेतलाई युवासंघका युवाहरूले धनगढी विमानस्थलबाट मोटरसाइकलमा स्कटिङ गरेर ल्याएका थिए। स्कटिङकै क्रममा जेनजी चोकमा नाराबाजी गरिरहेका जेनजी युवाहरूलाई उनीहरूले लखेटेका थिए। युवासंघको प्रतिकारमा जेनजी सरिता जोशी घाइते भएकी छन्। उनको हातमा चोट लागेको छ। सरिताको निसर्ग अस्पतालमा उपचार भइरहेको छ।

धनगढीमा एमाले निकट युवा संघको सुदूरपश्चिम प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्न नेता महेश बस्नेत धनगढी आएका हुन्। उनी आउने भएपछि जेनजी युवाहरूले धनगढीको सडकमा प्लेकार्डसहित विरोध सुरु गरेका थिए। उनीहरूले गुण्डुको गुण्डा गो ब्याक, जेनजीको रगतमाथि खेलवाड गर्न पाइँदैनजस्ता नारासहित सडकमा विरोध प्रदर्शन गरिरहेका छन्।

नेता बस्नेतको सुरक्षा र जेनजीको विरोध प्रदर्शनलाई ध्यानमा राखी सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको छ। कैलाली उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम हुने भएकाले जेनजी युवाहरूले सोही मार्गको जेनजी चोकमा प्रदर्शन गरिरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖