काठमाडौँ । भारतले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई प्रत्यर्पण गर्नेबारे बंगलादेशले पठाएको अनुरोध प्राप्त भएको पुष्टि गरेको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले बुधबारको नियमित प्रेस ब्रिफिङमा ‘अनुरोध प्राप्त भएको र अहिले त्यसलाई अध्ययन गरिरहेको’ औपचारिक प्रतिक्रिया दिएका हुन्।
उनले हाल चलिरहेको न्यायिक र आन्तरिक कानुनी प्रक्रियालाई ध्यानमा राखेर निर्णय लिइने बताए । उनले भारत बंगलादेशका जनताका हितलाई प्राथमिकता दिने प्रतिबद्धता पनि व्यक्त गरे।
बंगलादेशको अन्तर्राष्ट्रिय अपराध ट्राइब्युनलले शेख हसिनालाई मानवताविरुद्धका अपराधको आरोपमा गैरहाजिरीमै मृत्युदण्ड सुनाएको थियो। उनी बंगलादेश छाडेपछि भारतमै बस्दै आएकी छिन्।
