• Saturday 17th of October 2026

जेनजीसँग सम्झौताको तयारी : प्रधानमन्त्री कार्कीद्वारा सोमबारभित्र टुङ्ग्याउन निर्देशन


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका अगुवा प्रतिनिधिसँग शुक्रबार छलफल गरेकी छन् । सो क्रममा सरकारले अघि बढाइरहेको जेनजीसँगको सम्झौताको मसौदालाई चाँडो अन्तिम रूप दिन सम्बद्ध निकायलाई उनले निर्देशन दिइन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा जेनजी पक्षले सम्झौतामा हस्ताक्षर गर्ने प्रक्रिया अनावश्यक रूपमा ढिलो भइरहेको भन्दै सरकारलाई शीघ्र निष्कर्षमा पुग्न आग्रह गरेको थियो। सो क्रममा सरकारका अधिकारीहरूले जेनजीतर्फबाट प्राप्त दस्ताबेज अध्ययन भइरहेको र मसौदा अन्तिम रूप दिने काम अन्तिम चरणमा पुगेको जानकारी दिएका थिए ।

छलफलका क्रममा प्रधानमन्त्री कार्कीले सम्झौता प्रक्रिया लामो समयसम्म नलगेर छिटो टुङ्ग्याउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले भनिन्, ’अब यो विषय धेरै लम्ब्याउनु हुँदैन। आज सकिन्छ भने आजै, नभए भोलि शनिबार पनि काम गर्नुहोस्। पर्सि आइतबार दिनभर लागे लागोस्, जे–जे हेर्नुपर्छ हेर्नुहोस्। सोमबारभित्रमा अन्तिम रूप दिइएको हुनुपर्छ।’

र सम्झौतामा हस्ताक्षर भएपछि देखिन सक्ने राजनीतिक वा प्रशासनिक चुनौतीहरूको जिम्मेवारी लिन सरकार तयार रहेको समेत प्रधानमन्त्रीले बताएकी थिइन् । उनले भनिन्, ’हस्ताक्षर गरेकै कारण केही बेहोर्नुपरे म बेहोरौँला। मेरो सिङ्गो मन्त्रिपरिषद्ले त्यसको जिम्मेवारी लिन्छ। यो राजनीतिक दस्ताबेज हो। कर्मचारी प्रशासकहरूले चिन्ता लिनुपर्दैन ।’

सरकार र जेनजीबिचको वार्ता हुँदै आए पनि सहमति ठोस सहमति भएको छैन। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको बलमा कार्की नेतृत्वको सरकार बनेको हो । सरकार बनेपनि हालसम्म समग्र विषयमा जेनजीसँग लिखित सहमति भएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖