नेकपा (एमाले)का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले छिट्टै ससम्मान बिदा लिने विश्वास व्यक्त गरेका छन्। आइतबार च्यासलस्थित पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले ओलीपछि एमालेलाई नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गर्ने वातावरण बन्न सक्ने बताए।
भट्टराईका अनुसार जेन–जी आन्दोलनपछि देशको राजनीतिक नेतृत्वसहित पार्टीभित्र पनि पुराना नेताहरूलाई बिदा दिनुपर्ने माग बढ्दै गएको छ। उनले भने, “लामो समय नेतृत्व गरेका नेताहरूले ससम्मान बिदा लिनुपर्छ भन्ने ठूलो आवाज उठिरहेको छ। हाम्रो पार्टीभित्र पनि त्यस्ता धारणा बलियो छन्।”
अध्यक्ष ओलीमाथि नेतृत्व हस्तान्तरणको दबाब बढिरहेको उनको दाबी छ। भट्टराईले भने, “अध्यक्षले ससम्मान बिदा लिएपछि नयाँ ढंगले नेतृत्व छान्छौँ। त्यो सर्वसम्मत पनि हुन सक्छ।”
सञ्चारकर्मीले “ओलीसँग प्रतिस्पर्धा गर्दा ‘भीम रावल’ हुनुपर्ला कि?” भन्ने प्रश्न गर्दा भट्टराईले त्यस विषयलाई बासी बहस भन्दै प्रतिवाद गरे। “एमालेमा अहिले त्यस्तो कुनै गुञ्जायस छैन। कोही पनि निर्विकल्प हुँदैन,” उनले भने, “हरेक कुराको विकल्प हुन्छ।”
भट्टराईको आजको अभिव्यक्तिलाई एमालेको आगामी महाधिवेशनमा नेतृत्व परिवर्तनका संकेतका रूपमा हेरिएको छ।
