काठमाडौँ । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले फागुन २१ को चुनावमा कसैले पनि बाधा अवरोध गर्न नहुने बताएका छन् ।
सोमबार पार्टी बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा भुसालले मुलुकको राजनीतिक निकास चुनावबाट मात्र सम्भव भएको भन्दै यस्तो बताएका हुन् । उनले तोकिएको मितिमा चुनाव गर्न सबैभन्दा बढी सरकारले ध्यान दिनुपर्ने समेत बताए ।
‘चुनावबारे कसैले यताउता र बाधा अवरोध नगरुन्, एमालेले पनि नगरोस्’, भुसालले भने– ‘कमरेड ओलीका नीतिहरूले मुलुकले धेरै कुरा गुमाएको छ । अब कमरेड ओली तपाईंले पनि चुनाव बिथोल्नेतिर नलाग्नुस् ।’
उनले कांग्रेसले पनि चुनावबारे दुबिधा राख्न नहुने भन्दै तत्कालीन माओवादी र हालको नेपाली कम्युनिस्ट पार्टीले पूर्व हेरेर पश्चिमको योजना नबनाउन आग्रह गरेका छन् ।
उनले माओवादी अर्थात प्रचण्डले बोलेका कुराहरूमा विश्वास गर्न छाडेको भन्दै नागरिकले निर्भयपूर्वक भोट हाल्न सक्ने अवस्थाको सिर्जना गर्नुपर्ने बताए ।
