• Saturday 17th of October 2026

मन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न माग


  • धनकुटा खबर
  • .

काठमाडौँ : चुनावी सरकारका तीन मन्त्रालय सम्हालेका मन्त्री कुलमान घिसिङले पद त्याग नगरी चुनावी मैदानमा उत्रिने घोषणा गरेसँगै राजनीतिक विवाद उत्पन्न भएको छ। यस विषयमा जेन्जी मुभमेन्ट नेपालले कडा प्रतिक्रिया जनाउँदै सरकारको वैधता र नैतिकता माथि प्रश्न उठाएको छ।

जेन्जी मुभमेन्टले जारी गरेको वक्तव्यमा भनिएको छ कि मन्त्री पदलाई ढाल बनाउँदै चुनावमा जान खोज्नु लोकतन्त्र, नैतिकता र जेन्जी विद्रोहमा रगत बगाएका युवाहरूको बलिदानमाथिको प्रत्यक्ष घात हो।

यस्तै, प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक रूपमा दिएको “कुलमान घिसिङ नभएको भए सरकार बन्दैनथ्यो” भन्ने अभिव्यक्तिले वर्तमान सरकारको निर्भरता र सत्ता कब्जा पुष्टि गरेको पनि वक्तव्यमा उल्लेख छ।
वक्तव्यमा भनिएको छ कि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कुलमान घिसिङविरुद्ध दर्ता भइसकेका भ्रष्टाचारका मुद्दाहरू र भारतसँग कमिसन लिएर ४३ करोड रुपैयाँको राष्ट्रिय क्षति हुनेगरी गरिएको विद्युत् सम्झौताको तथ्यले पनि उनका पदमा बस्ने कारणलाई स्पष्ट पार्ने गरेको छ।

जेन्जी मुभमेन्टले चेतावनी दिँदै कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गर्नुपर्ने र मन्त्री पदको दुरुपयोग गर्दै चुनावी प्रक्रियालाई कब्जा गर्ने प्रयास अस्वीकृत गर्न राज्य संयन्त्रले ढिलाइ गर्नु हुँदैन भन्ने धारणा राखेको छ। यससँगै, मुभमेन्टले भनेको छ कि सुशीला कार्कीले जेन्जी विद्रोह अपहरण गरेर बनाएको सरकारले आफ्नो वैधता गुमाइसकेको छ।

जेन्जी मुभमेन्ट नेपालले स्पष्ट पार्दै देशमा कुशासन अन्त्य, सत्ता कब्जाको अन्त्य र नयाँ पुस्ताको बलिदानबाट देशको नयाँ युगको सुरुवात हुने बताएर ऐतिहासिक चेतावनी जारी गरेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖