काठमाडौं । एमालेभित्र नेतृत्व हस्तान्तरणको विषयमा नवौँ महाधिवेशनकै क्रममा केपी शर्मा ओलीपछि इश्वर पोखरेललाई पार्टी अध्यक्ष बनाउने ‘भद्र सहमति’ भएको खुलासा भएको छ।
कान्तिपुर टेलिभिजनको ‘फायरसाइड’ कार्यक्रमका लागि अन्तर्वार्ता दिँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ११औँ महाधिवेशनमा अध्यक्षका प्रत्याशी बनेका पोखरेललाई पनि त्यही सहमतिअनुसार अघि बढाइने उल्लेख भए पनि पछि उक्त सहमति कार्यान्वयन नभएको दाबी गर्नुभयो।
भण्डारीले भदौ २३ गते जेन–जी आन्दोलनमा भएको दमन तथा त्यसपछि देखिएका घटनाको प्रमुख जिम्मेवारी तत्कालीन सरकार र त्यसका नेतृत्वकर्ताले नै लिनुपर्ने धारणा राख्नुभयो । उहाँका अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनबारे आफूलाई चेतावनी वा पूर्वसूचना नपाएको बताउनु नै जिम्मेवारीमा कमजोरीको संकेत हो। “प्रधानमन्त्रीले आफ्नो कार्यकालमा भएका सबै घटना–दुर्घटनाको जिम्मा लिनैपर्छ,” उहाँले भन्नुभयो।
त्यसैगरी, भदौ २४ मा भएका आगजनी, तोडफोड तथा लुटपाटका गतिविधिलाई योजनाबद्ध रूपमा प्रायोजित हुनसक्ने उल्लेख गर्दै भण्डारीले घटनाको विस्तृत छानबिन आवश्यक रहेको बताउनुभयो। “सो स्तरको ध्वंसकर्म आकस्मिक रूपमा हुन सक्दैन,” उहाँको भनाइ थियो।
