• Sunday 18th of October 2026

तत्कालीन नेकपा माओवादी केन्द्रका नेता मनराज गुरुङले पार्टीबाट दिए राजीनामा


  • धनकुटा खबर
  • .

पोखरा । तत्कालीन नेकपा माओवादी केन्द्रका नेता मनराज गुरुङले पार्टीबाट राजीनामा दिएका छन् । तनहुँ शुक्लागण्डकी नगरपालिकाका पूर्वअध्यक्षसमेत रहेका उनले मंगलबार माओवादी केन्द्रकै गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङलाई राजीनामा बुझाएका हुन् ।

‘साबिक नेकपा (माओवादी केन्द्र)को साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएको घोषणा गर्दछु । साथै महान् जनयुद्ध, सहिद, बेपत्ता, घाइते तथा गणतन्त्र स्थापनार्थ सङ्घर्ष गर्नुहुने सम्पूर्ण अग्रजहरुप्रति सदैव सम्मान रहनेछ,’ उनले सार्वजनिक गरेको पत्रमा उल्लेख छ ।

उनी जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनको पक्षमा उभिएका थिए । पछिल्लो पार्टी एकीकरणबाट नेपाली कम्युनिस्ट पार्टी बनेपछि झनै रुष्ट थिए । उनी शुक्लागण्डकी १२ का पूर्व वडाध्यक्ष समेत हुन् । उनले लेखेको राजीनामा पत्रमा समेत माओवादी केन्द्रलाई नै सम्बोधन गरेका छन् ।

‘राजीनामा पत्रमै क्लियर छ, यो गठबन्धनमा मेरो सहमति छैन । मैले केन्द्रीय महाधिवेशन होला र पुस्तान्तरण होला भन्ने सोचेको थिएँ,’ उनले भने, ‘केन्द्रीय समिति बैठकले गरेका निर्णय लत्त्याएर जनताले नै बहिस्कार गरेका दलहरूसँग एकीकरणको नाममा जे भइरहेको छ, यसमा मेरो सहमति छैन ।’

उनले राजनीतिक सक्रियता भने नछोड्ने बताएका छन् । ‘परिवर्तनका लागि लागिरहनुपर्छ भन्ने सोचेको छु । अहिले नै यो वा त्यो पार्टीमा लाग्छु भनेको छैन,’ रातोपाटीसँग कुरा गर्दै उनी भन्छन्, ‘साथीहरुसँग पनि सल्लाह गर्छु । मैले यो पार्टी छोडेको पुष्टि हुनेगरी लाग्नुपर्छ । जे होस्, नेपाली कम्युनिस्ट पार्टीमा तेरो के भुमिका छ भनेर सोध्नेहरूलाई चाहिँ यही राजीनामा पत्र जवाफ हो ।’

उनी तत्कालीन समयमा सबैभन्दा कान्छो उमेरमा वडाध्यक्ष निर्वाचित भएका व्यक्ति हुन् । केही नयाँपन दिने गरी काम पनि गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖