• Saturday 17th of October 2026

नेपालमा ठूला दरका भारतीय नोट चलाउन भारतको अनुमति


  • धनकुटा खबर
  • .

काठमाडौँ । भारतले नेपालमा ठूला दरका भारतीय नोट चलाउन अनुमति दिएको छ । भारतीय रिजर्भ बैंकले भारतको केन्द्रीय राजपत्रमा सूचना प्रकाशन गर्दै १०० रुपैयाँ भन्दा ठूलो दरका नोटको कारोबारमा रहेको प्रतिबन्ध हटाएको हो ।

भारथीय केन्द्रीय गजेटमा प्रकाशित सूचनामा भनिएको छ– ‘नेपाल वा भुटानबाट भारत यात्रा गर्ने व्यक्तिले रु १०० भन्दा माथिका दरका नोटहरू कुल रु २५ हजार को सीमासम्म साथमा बोक्न सक्नेछन् ।’ सन् २०१६ मा नोटबन्दी हुनुअघि नेपालमा रु ५०० र रु १००० दरका भारतीय रुपैयाँको कारोबार र सटही हुन्थ्यो । तर त्यसपछि भने एक सय दरका बाहेक नोट चलाउन भारतले अनुमति दिएको थिएन ।

भारतमा अहिले रु २००० दरका नोटसम्म चलनचल्तीमा ल्याएको छ, तर नेपालमा चलनचल्तीको अनुमति थिएन । अब भने सबै प्रकारका नोटको चलनचल्तीको अनुमति प्राप्त भएको हो । नेपालबाहेक यो सुविधा भुटानलाई पनि दिएको हो।

केही समयअघि भारतीय रिजर्भ बैंकले मौद्रिक नीतिमा संशोधन गर्दै नेपाली व्यवसायीहरुलाई भारतीय बैंकमार्फत् ऋण दिने बाटो खुला गरेको थियो । आफ्नो मुद्राको प्रभाव बढाउन भारतले अहिले अर्को कदम लिएको हो ।

यद्यपि भारतीय पर्यटकले नेपालमा आउँदा २५ हजार रुपैयाँ भारुसम्म मात्रै बोक्न पाउने सीमालाई भने यथावत नै राखिएको छ । तर ठूला नोट बोक्न पाउँदा भुक्तानी तथा कारोबार सहज हुने अपेक्षा गरिएको हो ।

त्यस्तै भारतमा काम गरेर फर्किने नेपालीलाई पनि ठूला नोट ल्याउन र नेपालमा आएर साट्न सकिने बाटो खुला हुनेछ । पाकिस्तान र बंगलादेशका नागरिकले भने नेपाल आउँदा यो दरका नोट लिएर आउन पाउँदैनन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖