काठमाडौँ । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी अभियन्ता सुदन गुरुङसँग आफूमाथि अन्याय भएको गुनासो गरेका छन् ।
आज कारागार भेट्न पुगेका अभियन्ता गुरुङसँगको कुराकानीका क्रममा लामिछानेले राज्यले आफूमाथि प्रतिशोध साँधेको बताएका हुन् ।
भेटबारे जानकारी दिँदै गुरुङले भने, ‘उहाँले आफूमाथि अन्याय भएको र यसका विरुद्ध लड्नुपर्ने कुरा गर्नुभएको छ ।’ लामिछानेले अहिले चलिरहेको ‘जेनजी आन्दोलन र युवाहरूको अभियानमा रास्वपाको पूर्ण समर्थन रहने प्रतिबद्धता समेत जनाएको गुरुङले बताए ।
‘मुख्यतः दुई वटा कुरामा छलफल भयो, पहिलो जेनजी आन्दोलनमा रास्वपाको समर्थन र अर्को रवि लामिछाने विरुद्ध राज्यले प्रतिशोध साँधेको भन्ने विषयमा उहाँले भन्नुभयो’ गुरुङले भने । लामिछानेको भनाइ उद्धृत गर्दै गुरुङले भने– ‘हामी जेनजीको साथमा छौँ, उहाँहरूको माग र आन्दोलनमा हाम्रो पूर्ण समर्थन रहनेछ ।’
करिब एक घण्टा चलेको उक्त भेटमा समसामयिक राजनीति र वैकल्पिक शक्तिहरूबिचको एकताका विषयमा समेत छलफल भएको उनले बताए ।
सभापति लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले आफूले भेट्न वातावरण मिलाएको भएता पनि सँगै नगएकोले भित्रको कुरा थाहा नभएको बताए । ‘भित्र त म गइनँ, भेट्ने वातावरण मिलाउन आग्रह भएपछि भेट भएको हो । साढे २ बजेदेखि भेट भएको थियो,’ उनले भने ।
