• Saturday 17th of October 2026

अख्तियार प्रमुख सहित १० हाइप्रोफाइलको निवास वरपर सुरक्षा निगरानी गर्न सर्कुलर


  • धनकुटा खबर
  • .

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित १० जना हाइप्रोफाइल व्यक्तिहरूका निवास वरपर सुरक्षा निगरानी गर्न सर्कुलर गरिएको छ ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले बिहीबार ती १० जनाको निवासस्थान, भ्रमण मार्ग र कार्यक्रमस्थलमा निगरानी बढाउन सर्कुलर गरेको हो ।

आफूलाई उग्रवादी संगठनको अध्यक्ष बताउने युवकले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर धम्की दिएका थिए । ती युवकले लोकमान सिंह कार्की, गोपाल बहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाँण, आरजु राणा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी र दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिएका हुन् । युवकले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा पूर्वआईजीपीहरू तथा अख्तियार प्रमुखलाई ‘सफाया’ गरिने उल्लेख छ ।

प्रहरी प्रधान कार्यालयको निर्देशनमा उपत्यका प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरका प्रहरी युनिटहरूलाई सर्कुलर गर्दै धम्की दिएका व्यक्तिहरू सहभागी हुने कार्यक्रमस्थलमा पनि निगरानी गर्न र सूचना संकलन गर्न भनेको छ ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीले गरेको सर्कुलरमा भनिएको छ, ‘कथित उग्रवादी समूहहरूको गतिविधिबारे खबर संकलन गरेर सम्बन्धित प्रहरी कार्यालयको क्षेत्रमा बस्ने अन्य विशिष्ट व्यक्तिहरूको समेत प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनू ।’

उग्रवादी समूह बताउने युवकबारे अनुसन्धान भइरहेको काठमाडौंका एसएसपी रमेश थापाले रातोपाटीलाई बताए । उनले भने, ‘अवाञ्छित तवरले धाकधम्की दिएको विषयमा अनुसन्धान भइरहेको छ ।’ आफूलाई एक्ट्रिमिस्ट ग्रुप अफ नेपालको अध्यक्ष बताउँदै ती युवकले भनेका छन्, ‘अख्तियार प्रमुखलाई खुरुक्क राजीनामा गर्न अनुरोध छ अन्यथा १० दिनभित्र हामि सक्काइदिन्छौँ ।’

ती युवकले आफूलाई प्रहरीले पक्राउ गर्न खोजेको तर आफू भारतमा रहेको जिकिर गरेका छन् । उनले भनेका छन्, ‘म भारतमा छु, मलाई पक्राउ गर्न असम्भव ।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖