राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले राष्ट्रपति हटाएर राजा स्थापित गर्ने र प्रदेश संरचना खारेज गर्नका लागि यही मंसिर २३ गते आन्दोलन गर्न लागेको बताएका छन् ।
शनिबार शाही युवा शक्ति नेपालको काठमाडौं जिल्ला भेलामा बोल्दै उनले मुख्यगरी २३ गतेको कार्यक्रम राष्ट्रपतीय व्यवस्थाको खारेज, साथै प्रदेश संरचना हटाउनका लागि आन्दोलनको शुरूआत गर्न भएको उनको भनाइ छ ।
उनले भने, ‘म स्पष्टसँग भन्छु २३ गतेको कार्यक्रम राष्ट्रपति हटाएर राजा स्थापित गर्ने हो । २३ गतेको कार्यक्रम प्रदेश संरचना हटाउनका लागि हो । देशको प्रधानमन्त्री जनताले भोट हालेर बनाउने कि नबनाउने भन्नेबारे आन्दोलन गर्न लागेका हौं ।’
उनले फागुन २१ गतेको चुनावपछि पनि प्रधानमन्त्रीमा केपी ओली नै आउने सम्भावना बढी भएको भन्दै यसको ग्यारेन्टी लिन अन्तरिम सरकार तयार नरहेको दाबी गरे ।
‘सांसदहरूको लागि चुनाव हुँदैछ । यसबाट भोलि केपी ओली प्रधानमन्त्री हुँदैनन् भन्ने केही ग्यारेन्टी छ ? यसमा सुशीला कार्कीले ग्यारेन्टी लिन सक्नुहुन्छ ? किनकी इतिहास काफी छ । ३२ सिट ल्याएका प्रचण्ड प्रधानमन्त्री भएका छन्,’ उनले भने ।
शाहीले राष्ट्रपति साझा हुन नसक्ने भन्दै २३ गतेको कार्यक्रममा सबैलाई उपस्थित हुन अपिल समेत गरे ।
‘राष्ट्रपति साझा हुन सक्दैन । त्यही भएर २३ गते सबै उपस्थित हुनुहोला । किनभने संविधान संशोधन जरुरी छ । नेपालको संविधानको धारा ७६ खारेज गरेर संसदबाट नभइ जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चुन्नका लागि आवाज उठाउन लागि आन्दोलन रोजेका हौं’, शाहीले भने, ‘यो आन्दोलन प्रदेश संचरना खारेज गर्ने र स्थानीय तह गैरदलीय बनाउनका लागि हो ।’
