• Friday 16th of October 2026

रबि लामिछानेलाई छोड्न मिल्छ भने रबिको सट्टा म जेल जान तयार छु:खगेन्द्र सुनार


  • धनकुटा खबर
  • .

काठमाडौ ॥ हाम्रो पार्टी नेपालका सभापति खगेन्द्र सुनारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेको रिहाइका लागि आफू जेल जान पनि तयार रहेको घोषणा गरेका छन्।

आइतबार नख्खु कारागारमा लामिछानेसँग भेट गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देशलाई अहिले रवि लामिछानेजस्तो होनहार नेतृत्व चाहिएको भन्दै आफूले आवश्यकता परे उनको सट्टा जेल बस्न सक्ने बताएका हुन्।

सुनारले भने, “यदि म जेल गएर रविलाई छुटाउन सकिन्छ भने म रविको ठाउँमा बस्न तयार छु। म निर्वाचन आयोगद्वारा प्रमाणित पार्टीको सभापति हुँ, मलाई भित्र राखेर रविलाई छोड्न सकिन्छ भने गर्नुहोस्।”

उनले रविमाथिको कारबाहीलाई कांग्रेस र एमाले मिलेर गरेको राजनीतिक प्रतिशोधको परिणाम भएको दाबी गरे। कानुन र अदालतको कार्यशैलीमाथि प्रश्न उठाउँदै उनले भने, “अदालतको कानुनले रविलाई मात्र किन देख्छ? गगन थापा र आरजु राणा देउवाहरूका बदमासीबारे छानबिन हुँदैन?”

उनको भनाइमा, ठूला दलका नेताहरूले गरेका कुकर्ममा राज्य मौन देखिएर रास्वपा सभापतिमाथि कडा कारबाही हुनु दोहोरो मापदण्डको उदाहरण हो। उनले सहकारी मुद्दामा लामिछानेलाई नियतवश रकम अपचलन होइन, योजनाबद्ध रूपमा फसाउने प्रयास भएको पनि आरोप लगाए।

आगामी निर्वाचन र देशको राजनीतिक दिशाबारे बोल्दै उनले नयाँ तथा वैकल्पिक शक्तिहरू एक हुनुपर्नेमा जोड दिए। उनले भने, “अहिले फरक–फरक बाटोबाट बगे पनि नदीहरू दोभानमा भेटिन्छन्। मुलुकलाई बदल्न वैकल्पिक शक्तिहरू एक हुनैपर्छ।”

देश संकटमा रहेको बताउँदै उनले जनतालाई ‘हत्यारा र भ्रष्टाचारीहरूको अनुहार’ हेरी अन्तिम पटक खबरदारी गर्न समेत अपिल गरे।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖