• Friday 16th of October 2026

‘बत्ती बाल्ने सर’ भन्दै कुलमानमाथि खनिए हर्क साम्पांग


  • धनकुटा खबर
  • .

धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका संस्थापक हर्क साम्पाङले ऊर्जा, जलस्रोत तथा सिँचाइ–मन्त्री कुलमान घिसिङमाथि कडा टिप्पणी गरेका छन्। काठमाडौंमा आयोजित एक आमसभामा बोल्दै साम्पाङले घिसिङ आफ्नो राजनीतिक बाटो छेक्न सक्रिय भएर लागेको दाबी गरे। उनले घिसिङको नाम नलिईकन ‘बत्ती बाल्ने सर’ भनेर व्यंग्यात्मक तरिकाले सम्बोधन गरेका थिए।

साम्पाङले आरोप लगाए—
“हाम्रो बाटो छेक्न धेरै मान्छे विभिन्न समयमा प्रयोग हुन्छन्। अहिले बत्ती बाल्ने एक जना सर बत्ती बाल्छु भन्दै आउनुभएको थियो। कहिले भन्छन्— यो मेरो पार्टी होइन, कहिले भन्छन्— हो। लिस्टमा पनि उहाँको नाम छैन। उहाँलाई देखाएर श्रम संस्कृतिको बाटो छेक्ने तुरुप हानिएको छ।”

उनका अनुसार आफूले कसैप्रति जातीय वा सामुदायिक टिप्पणी नभई व्यक्तिको चरित्रका कारण मात्र आलोचना गरेका हुन्। उनले स्पष्ट रूपमा भने, “कहिलेकाहीँ व्यक्ति विशेषलाई गाली गर्नुपर्ने हुन्छ। मलाई पनि गाली गरे सहन्छु। तर दोहोरो चरित्र भएका मान्छेहरू नेतृत्व गर्न लायक हुँदैनन्। यस्ता रहस्यमय र कन्फ्युज्ड मान्छे खतरनाक हुन्छन्।”

साम्पाङले श्रम संस्कृति पार्टी नयाँ राजनीतिक विकल्पको रूपमा तीव्र गतिमा अगाडि बढिरहेको दाबी गर्दै, बाहिरी शक्तिले अवरोध खडा गर्न खोजे पनि आफ्नो यात्रा नरोकिने बताए।

उनले थपे—
“हामी दौडिरहेका छौँ, फर्स्ट हौँ। तर बीच–बीचमा बाँसको तगारो जस्तो अवरोध आइरहन्छ। यस्तो तगारोले श्रम संस्कृतिको बाटो रोकिन्न। तीन करोड नेपालीले नयाँ नेतृत्व चाहिएको निर्णय गरिसकेका छन्।”

साम्पाङका पछिल्ला टिप्पणीहरू सार्वजनिक भएपछि राजनीतिक वृत्तमा बहस र प्रतिक्रियाहरू तीव्र बनेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖