• Friday 16th of October 2026

नेपालको खाना विश्वमञ्चमा! मिथिला थाली’लाई दक्षिण एसियाकै उत्कृष्ट परिकारको सूचीमा राखेपछि


  • धनकुटा खबर
  • .

नेशनल जियोग्राफिकले नेपाली ‘मिथिला थाली’लाई दक्षिण एसियाकै उत्कृष्ट परिकारको सूचीमा राखेपछि—सेफ सन्तोष शाहले सिर्जना गरेको यो परिकार विश्वव्यापी चर्चामा आएको छ।

काठमाडौं । विश्वप्रसिद्ध नेशनल जियोग्राफिक म्यागजिनले नेपालका सेफ सन्तोष शाहद्वारा तयार गरिने ‘मिथिला थाली’लाई दक्षिण एसियाकै उत्कृष्ट परिकारको रूपमा मान्यता दिएको छ। नेपाली भोजनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै आएका सेफ सन्तोषका परिकारहरूमध्ये मिथिला थालीले अहिले विश्वभर चर्चा बटुलेको रिपोर्टमा उल्लेख छ।

म्यागजिनका अनुसार ‘मिथिला थाली’मा स्थानीय सामग्री, घरेलु स्वाद, परम्परागत मिथिला पकाउने शैली र आधुनिक प्रस्तुतीकरणबीचको अद्भुत संयोजन भएकाले यसले दैनिक पाँच सयभन्दा बढी ग्राहकलाई आकर्षित गरिरहेको छ। जनकपुरको परम्परा, संस्कृति र खानाको गहिरो अर्थ बोकेको यो परिकारलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्नु सेफ सन्तोषको महत्वपूर्ण योगदान भएको लेखिएको छ।

सेफ सन्तोषले आफू जन्मिएको भूमि, मिथिला संस्कृति र जनकपुरको स्वाद विश्वको प्लेटमा पुर्‍याउन पाएकोमा गर्व व्यक्त गर्दै भने,
“नेपालको स्थानीय खाना विश्वले चिनेको देख्दा अझै धेरै मेहनत गर्न प्रेरणा मिलेको छ।”

नेशनल जियोग्राफिकले जनकपुरलाई सांस्कृतिक, धार्मिक र पाक–परम्पराले समृद्ध सहरका रूपमा चित्रण गर्दै जानकी मन्दिर, मिथिला कला र स्थानीय भोजनको प्रशंसा पनि गरेको छ।

यसअघि लोन्ली प्लानेटले पनि जनकपुरलाई दक्षिण एसियामा तेजीले उदीयमान सांस्कृतिक तथा खाद्य–पर्यटन गन्तव्यका रूपमा सूचीबद्ध गरिसकेको थियो।

सेफ सन्तोषले ‘मिथिला थाली बाइ सन्तोष शाह’ नाममा झम्सिखेल, नक्साल र गौशालामा शाखा सञ्चालन गरिरहेका छन्। जनकपुर फिस हाउसमार्फत मिथिलाको प्रसिद्ध माछाका परिकारलाई व्यावसायिक रूपमा विस्तार गरिरहेका उनले अब वीरगञ्जमा पनि नयाँ शाखा सुरु गर्ने तयारी गरिरहेका छन्।

नेपाली खानाको विश्वमा बढ्दो लोकप्रियता र मिथिला थालीको अन्तर्राष्ट्रिय मान्यताले नेपालका स्थानीय परिकारलाई वैश्विक खाद्य नक्सामा स्थापित गरेको विशेषज्ञहरूले बताएका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖